३१ स्थानमा अझै सडक अवरोध, पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने

  २०८१ असोज १७ गते १६:१८     विकासन्युज

रोशी खोलाको बाढीले शनिबार बगाएको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा क्षतिग्रस्त दुई सय मिटर सडक । तस्बिर: राजकुमार पराजुली/रासस

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १० र ११ गते परेकाे अविरल वर्षाले देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जनाएको छ । बिहीबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

मन्त्रालयका अनुसार देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको छ । ७७४ स्थानकाे पहिराे हटाइ यातायात सञ्चालनमा ल्याइसकिएकाे छ ।

अझै ३१ स्थानमा सडक अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने जनाएकाे छ । मन्त्रालय र सडक विभागको टोलीले हिजाे निरीक्षण गरेकाे थियाे । उक्त निरीक्षणपश्चात राजमार्ग नखुल्ने भएकाे हाे । बीपी राजमार्गको १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ ।

यसैगरी, मन्त्रालयले बाढी-पहिरोले क्षति पुर्‍याएकाे सडक तथा पुलहरू पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ ।

मन्त्रालयका अनुसार क्षतिकाे विस्तृत विवरण संकलनकाे काम जारी नै छ । प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी रूपमा यातायात चालु गर्न मात्र साढे दुईदेखि तीन अर्ब रुपैयाँ लाग्ने बताइएकाे छ ।

क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुन:स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड ५ किमि, विपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ किमि, मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० किमि, कान्ति राजपथ घपेली–बगुवा सडकखण्ड १३ किमि र मेची राजमार्गको रमिते–फिदिम खण्ड ८ किमि हालसम्म अवरुद्धको अवस्थामा रहेको जानकारी दिए ।

त्यसैगरी, क्षति भएको पुलहरूमा अरनिको राजमार्गको लिपिङ, अरनिको राजमार्गको लार्चा बेलिब्रिज, बीपी राजमार्गको सुनकोशी, खैरेनीटार, विपी राजमार्गको सुनकोशी, खुर्कोट, बिपी राजमार्गको सुनकोशी फोक्सिङटार, मेची राजमार्गको हँवा खोला पुल, कान्ति लोकपथको बागमती पुल, माईपोखरी–सन्दकपुर ईलामको रातेखोला पुल र कान्ति राजपथको बागमती पुल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.