फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

  २०८१ असोज १८ गते ११:१७     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया फेरी रोकिएको छ । बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिका संयोजक प्रा.डा. शिवराज अधिकारी बिरामी परेपछि नियुक्ति प्रक्रिया रोकिएको हो ।

लामो समयदेखि रोकिएको अध्यक्ष नियुक्ति प्रक्रियालाई निरन्तरता दिँदै तीन जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि शुक्रबार आज (असोज १८ गते) बोलाएको थियो । तर, सिफारिस समितिका संयोजक प्रा.डा. अधिकारी एक्कासि बिरामी परेपछि बोर्ड नियुक्ति प्रक्रिया फेरी अनिश्चित बनेको हो ।

विगतमा बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएपछि रोकिएको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं अनुपस्थित भएका थिए ।

त्यसपछि लामो समयसम्म नियुक्ति प्रक्रिया अन्यौल बनेपछि अदालतसम्म यो मुद्दा पुगेको थियो । अदालतको निर्णयपछि सिफारिस समितिले अनुपस्थित भएका तीनै जनालाई अन्तर्वार्ताका लागि आज अर्थ मन्त्रालयमा ‍बाेलाएकाे थियाे ।  संयोजक अधिकारी डेङ्गु संक्रमित भई अस्पताल भर्ना भएपछि नियुक्ति प्रक्रिया रोकिन पुगेको हो ।

सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने यसअघि नै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता दिइसकेका छन् । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ ।

पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो । तर, सरकार परिवर्तन भएपछि आयोगका उपाध्यक्षमा प्रा.डा अधिकारी नियुक्त भएका थिए ।

राजनीतिक दलका नेतृत्वबीच नै आफ्नो मान्छेलाई बोर्डको अध्यक्ष बनाउने संघर्ष चल्दा सेबोन विगत १० महिनादेखि नेतृत्वविहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.