सेयर बजारमा हरियाली, उकालो लाग्यो नेप्से

  २०८१ असोज २० गते १५:३५     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन पुँजी बजारमा हरियाली छाएको छ । दिनभरि उतारचढाव हुँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१५ प्रतिशत अर्थात् ५६.०९ अंकले बढेको हो । गत साता बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २ हजार ५९७.४९ अंकमा बन्द भएको थियो ।

नेपालीहरूको महानपर्व दशैंको लागि खर्च नजिकै आएकाले सेयर बजार बढेको लगानीकर्ताहरू बताउँछन् । आजसम्म सेयर कारोबार गरेमा दशैं अगाडि नै नगद रकम पाइने भएकाले बजार बढेको उनीहरूको भनाइ छ । साथै विगतमा पनि दशैंको समयमा सेयर बजार बढ्ने गरेको इतिहास रहेको उनले बताए ।

नेप्सेका अनुसार आज ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६९ हजार ८६० पटक खरिदबिक्री हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बुधबारका दिन ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूह २.२० प्रतिशत, विकास बैंक समूह २.२२ प्रतिशत, फाइनान्स समूह ६.३० प्रतिशत, होटल तथा पर्यटन समूह १.७१ प्रतिशत, जलविद्युत समूह २.७३ प्रतिशत, लगानी समूह १.९९ प्रतिशत, जीवन बीमा समूह १.३४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ३.१२ प्रतिशत, लघुवित्त समूह १.४७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१८ प्रतिशत, निर्जीवन बीमा समूह १.४९ प्रतिशत, अन्य समूह १.६२ प्रतिशत र व्यापार समूह ०.९० प्रतिशत बढेको छ ।

आइतबार न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३०.५० रुपैयाँ बढेर ३३५.६० रुपैयाँ पुगेको छ । यस्तै मध्यभोटेकोशी जलविद्युत कम्पनीको ९.७६ प्रतिशत, इस्टर्न हाइड्रोपावर कम्पनीको ९.६८ प्रतिशत, गुडविल फाइनान्सको ९.२७ प्रतिशत र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ८.१४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आइतबार साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २५ करोड ५७ लाख रुपैयाँ, नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँ, गुडविल फाइनान्सको १५ करोड १३ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर १४ करोड ७५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.