७५.७४ प्रतिशत लाभांश बाँड्ने सानिमाको घोषणा

  २०८१ असोज २१ गते ११:३०     विकासन्युज

काठमाडौं । हाइड्रोपावर कम्पनी सानिमा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरण योग्य सञ्चित नाफाबाट सेयरधनीहरूका नाममा कायम सेयरबापत भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्ने गरी चुक्ता पुँजीको करसहित ७५.७४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक १४ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही काठमाडौंमा प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित तीन जना सञ्चालकको नियुक्ति तथा निर्वाचन गर्ने, सञ्चालक समितिको सिफारिस बमोजिम एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र सञ्चालक समितिको बैठक भत्ता निर्धारण कम्पनीको सभाले गर्नेछ ।

यस्तै, आईपीओ निष्काशन गर्ने र आईपीओबाट प्राप्त रकम उपयोग गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.