बाढीपछि सम्पत्ति बीमाको दाबी उच्च, बागमतीबाट ९५ प्रतिशत दाबी पर्ने आंकलन

  २०८१ असोज २१ गते ११:४६     विकासन्युज

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले बीमा कम्पनीमा ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ बढीको बीमा दाबी पर्ने आंकलन गरिएको छ । जसमध्ये सम्पत्ति बीमाको दाबी उच्च रहने आंकलन बीमा कम्पनीहरूले गरेका छन् ।

कम्पनीहरूले नेपाल बीमा प्राधिकरणलाई बुझाएको प्रारम्भिक तथ्यांकअनुसार सम्पत्ति बीमाको दाबी उच्च मात्रामा हुने आंकलन  छ । सम्पत्तितर्फ ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । सम्पत्तिअन्तर्गत हालसम्म २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँको बीमा दाबी पेस भइसकेको छ ।

त्यसैगरी, इन्जिनियरिङ तथा ठेकेदार जोखिमअन्तर्गतको बीमा दाबी ७१ करोड ८९ लाख रुपैयाँ बढीको पर्ने प्रारम्भिक अनुमान छ । यस पोर्टफोलियोअन्तर्गत २८ करोड ४९ लाख रुपैयाँको दाबी पेश भइसकेको छ ।

इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा पोर्टफोलियो भनेको कुनै पनि निर्माणाधीन भवन, पुललगायत भौतिक संरचनाको बीमा हो ।

गत साता आएको बाढीले धेरै जलविद्युतमा क्षति पुगेको थियो । ऊर्जा मन्त्रालयका अनुसार जलविद्युतमा ५ अर्ब बढीको क्षति भएको थियो । इन्जिनियरिङ तथा ठेकेदार जोखिम र सम्पत्ति बीमा जलविद्युतको बीमामा पर्ने गर्दछन् । अर्थात जलविद्युत निर्माणाधीन अवस्थामा इन्जिनियरिङ तथा ठेकेदार जोखिमअन्तर्गत पर्छ भने निर्माण भइसकेपछिको बीमा सम्पत्तिअन्तर्गत पर्छ ।

सोही कारण पनि यस पोर्टफोलियोमा दाबी उच्च भएको अनुमान गर्न सकिन्छ ।

यसैगरी, मोटर बीमा निजीतर्फ २७ करोड ३० लाख र सार्वजनिकतर्फ १५ करोड ४५ लाख रुपैयाँ बढीको दाबी पेस हुने अनुमान गरिएको छ ।

कुन प्रदेशमा कति दाबी ?

सबैभन्दा धेरै दाबी बागमती प्रदेशबाट परेको छ । कुल दाबी रकमको ९५ प्रतिशत बागमतीबाट पर्ने कम्पनीहरूकाे अनुमान छ । बागमतीबाट कुल ६ अर्ब ९३ करोड ८१ हजार रुपैयाँ बढीको दाबी पर्ने अनुमान गरिएको छ । सबैभन्दा कम दाबी कर्णाली प्रदेशबाट पर्ने अनुमान गरिएको छ । कर्णालीबाट जम्मा १ लाख रुपैयाँको मात्र दाबी पर्ने अनुमान कम्पनीहरूले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.