खसीबोकाको स्वास्थ्य परीक्षण : दशैंमा कस्तो मासु खाने, कस्तो नखाने ?

  २०८१ असोज २२ गते १०:२८     इन्द्रसरा खड्का

काठमाडौं । नेपालीहरूको महान चाड दशैं घर आँगनमै आइपुगेकाे छ । यसलाई खानपिन र रमाइलोको चाड पनि भनिन्छ । यो बेला माछामासु अन्य समयको तुलनामा बढी खपत हुने गर्छ । बजारमा माछामासुको माग बढिरहेको बेला ब्यापारीलाई पनि बढी मासु कसरी बिक्री गर्ने भन्ने होड चल्छ । यस्तो हुँदा विज्ञहरू भने स्वस्थभन्दा अस्वस्थकर मासु बढी बजारमा आउने सम्भवना हुने बताउँछन् ।

चाडबाडमा हुनसक्ने यस्तो कालोबजारी रोक्न विभिन्न निकायले अनुगमन गर्छ । तर, मासुको हकमा भने कुन स्वस्थ, कुन अस्वस्थ भन्ने विषयमा खासै छुट्याएको पाइँदैन । यसैको मौका उठाइ बजारमा अस्वस्थकर माछामासु हुनसक्ने भन्दै विज्ञहरू भने स्वस्थ्य माछा मासुमात्र खान आग्रह गर्छन् ।

चिकित्सकका अनुसार आजभोलि कुखुराको सानो बच्चामा विभिन्न किसिमका हर्मोनको प्रयोग गरी बजारमा ल्याउने गरेको पाइन्छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । ग्राण्डी इन्टरनेशनल अस्पतालका कन्सलटेन्ट फिजिसियन डा. प्रशान्त त्रिपाठी खसी बोकादेखि कुखुरामा सुइ लगाएर ठूलो पार्ने र त्यसैको मासु बजारमा ल्याउने गरेको बताउँछन् ।

‘मासुले हाम्रो शरीरलाई प्रोटिन दिन्छ । तर, अस्वस्थकर खाँदा झन बेफाइदा गर्छ,’ उनी भन्छन्,‘ यो बेलामा मासु खाँदा निकै ध्यान दिनुपर्छ ।’

स्वास्थ्य परीक्षण

चाडबाडमा नागरिकले अस्वस्थकर मासु खानसक्ने जोखिम हुने भन्दै पशुसेवा विभागले पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिरहेको छ । नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै पशुसेवा विभागले काठमाडौं उपत्यकालगायत देशभर पशुपंक्षीको स्वास्थ्य सुरु गरेको छ । विशेषगरी दशैंका लागि बजारमा ल्याएका पशुचौपाया र दोपायाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

काठमाडौं उपत्यकामा भने विभिन्न १० ठाउँमा अहिले स्वास्थ्य चौपायाको परीक्षण भइरहेको विभागका सूचना अधिकारी डा. सुधीरकुमार सिंहले बताए । उनका अनुसार कलंकी, टुकुचा, खाद्य संस्थान, धापाखेल, चापागाउँ, टोखा, कपनमा रहेका हाटबजारबाट चौपायाको स्वास्थ्य परीक्षण भइरहेको छ ।

यस्तै, सुकेधारा, बालाजु बाइपास, लोकन्थली,दक्षिणकालीको चाल्नाखेलमा राँगा-भैंसी, सल्लाघारीमा च्याङ्ग्रा र भेडा, बल्खु कालीमाटीमा माछा, कुखुरा र हाँसको स्वास्थ्य परीक्षण जारी रहेको छ । घटस्थापनादेखि सुरु भएको स्वास्थ्य परीक्षण नवमीसम्म चल्नेछ । सूचना अधिकारी सिंहका अनुसार अहिले देशका ७ सय ५३ वटै स्थानीय तह जहाँ हाटबजार लागेर चौपाया बिक्रीवितरण भइरहेको छ ।

१३ हजार बढी पशुपंक्षीको परीक्षण

विभागको पशु क्वारेन्टाइन महाशाखाका प्रमुख वरिष्ठ पशुचिकित्सक डा. राजेश यादवका अनुसार आइतबारसम्म १३ हजार बढी पशुपंक्षीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा खसी ९ हजार ४ सय १३, बोका ४ सय २८, बाख्रा ४२, भेडा ३ सय ११,च्यांग्रा २ हजार ५ सय ९५,राँगाभैसी १ सय २८, कुखुराहाँस ८ सय १२ गरी जम्मा १३ हजार ७ सय २९ रहेका छन् भने माछा ५८.९२ मेट्रिकटन स्वास्थ्य परिक्षण गरिएको छ ।

यो अवधिमा एउटा पशुमात्र अस्वस्थ्कर भेटिएको छ । खसी, बोका बाख्रा, राँगाभैंसी, भेडा, च्याङ्ग्रा, हाँसकुखुरा र माछाको स्वास्थ्य परीक्षण जारी राखेको विभागले क्लस्टर छुट्याएर परीक्षण जारी राखेको छ ।

कसरी गरिन्छ जाँच ?

खसी, बोका, बाख्रा, राँगा भैंसी र दोपाया कुखुरा, हाँस को स्वास्थ्य जाँच गर्दा विभिन्न किसिमले गरिन्छ । सबैभन्दा पहिले चौपायाको आँखा, छाला, नाक हेरिन्छ । एउटा स्वस्थ चौपायाको आँखा चम्किलो र स्पष्ट हुन्छ । उसको छाला सफा र चम्किलो र फुर्तिलो देखिन्छ । यस्तै, चौपायाको तौल र शरीरको संरचना सामान्य हुन्छ ।

डा. यादव पशु स्वस्थ वा अस्वस्थ थाहा पाउन कुनैपनि चौपायाका आँखा, नाकबाट केही बगिरहेको छ या छैन भनेर हेर्न सकिने बताउँछन् । यदि आँखा, नाकबाट केही बगेको छैन, पखाला पनि लागेको छैन भने त्यस्तो चौपायालाई स्वस्थ रहेको ठानिन्छ । कुनै चौपाया झोक्रयाएको छ, आँखा अनि नाकबाट पानी बगिरहेको छ, पखाला लागेजस्तो छ भने त्यसलाई अस्वस्थ मानिन्छ ।

अहिले विभागले चौपायाका लक्षणका आधारमा स्वास्थ्य जाँच गरिरहेको यादवले जानकारी दिए । परीक्षणका क्रममा अस्वस्थ भेटिएको चौपायालाई औषधी दिने गरिन्छ । डा. यादव भन्छन्, ‘सबै चौपाया र दोपायाको जाँच हेरेरै गरिन्छ, हेर्दै सद्यजस्तो छ, केही भएको छैन भने त्यसलाई स्वस्थ नै भनेर बजारमा पठाउँछौं ।’

यस्तै, दोपाया (कुखुरा, हाँस, आदि) जाँच गर्दा पनि यस्तै लक्षणहरू हेरिन्छ ।

स्वस्थ दोपायाकाे पखेटा सफा, चम्किलो, र टाँसिएको हुन्छ । पञ्जा मोटो र दुरुस्त देखिन्छ । आँखामा चमक र चोचो सफा हुन्छ । अस्वस्थ छ भने यसको फरक हुन्छ । स्वस्थ कुखुरा चलाख, उड्ने वा दौडने फुर्तिलो हन्छ, अस्वस्थ छ भने एउटै ठाउँमा बस्ने, खानेकुरा नखाने हुन्छ ।

स्वस्थ हरियो, अस्वस्थ रातो

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष १ हजार ४ सय खसीबोका र तीन च्यांग्रा खरिद गर्ने योजना बनाएको छ । जसअन्तर्गत कम्पनीले अहिलेसम्म ६ सय ६८ खसीबोका र च्यांग्रा किनिसकेको छ । यस्तै, अन्य व्यवसायीहरूले पनि दशैंलक्षित चौपाया बजारमा ल्याएका छन् ।

बजारमा ल्याएका यिनै पशुचौपायाको स्वास्थ्य परीक्षण गरिरहेको पशुसेवा विभागले स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ चौपायाको सिङमा रातो लगाउने गरेको छ ।

पशु सेवा विभागका सूचना अधिकारी सिंहले सिङमा हरियो लगाएको खानयोग्य स्वस्थ र रातो लगाएको चौपायाको तत्काल खान अयोग्य वा अस्वस्थ भनी प्रमाण दिएकाले सिङमा हरियो स्प्रे लगाएको चौपाया मात्र खरिद गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.