राष्ट्रियस्तरमा उत्कृष्ट कृषक बनिन् नवलपुरकी रेग्मी

  २०८१ असोज २२ गते ६:५१     विकासन्युज

काठमाडौं । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएकी छिन् । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको ४४औँ विश्व खाद्य दिवस कार्यक्रममा गैँडाकोट-१८ की कृषक रेग्मी पुरस्कृत भएकी हुन् ।

रेग्मीलाई कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले फलफूल बगैँचा (सुन्तला जात) व्यवसायतर्फ राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा १० हजार रुपैयाँसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ तारिखमा विश्व खाद्य दिवस मनाउने गरिएकामा त्यस दिन दसैँ परेका कारण सोमबार नै मनाइएको विभागका महानिर्देशक डा नरहरिप्रसाद घिमिरेले बताए ।

सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्रसङ्घको २०औँ साधारणसभाले सङ्गठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरुप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिएको हो ।

उत्कृष्ट कृषकका रुपमा सम्मानित रेग्मीले गैँडाकोट–१८ को बसेनीमा लिफ्टिङ सिँचाइबाट फलफूल तथा तरकारीखेती गर्दै आएकी छिन् । उनी ७ वर्ष अगाडिदेखि करिब २ करोड रुपैयाँभन्दा बढीको लगानीमा ‘टीकारत्न टुल्कीदेवी कृषि फर्म’ मार्फत सुन्तला जातको फलफूलखेती गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.