बीमा दाबी समयमै दिएर कम्पनीहरूले आफूलाई स्थापित गर्ने बेला यही हो : अध्यक्ष सिलवाल

  २०८१ असोज २२ गते १७:२४     विकासन्युज

 

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सिर्जित समस्याको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

दशैंतिहार तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले यस्ताे बताएका हुन् ।

उनले क्षतिकाे बीमा दाबी समयमै दिएर बीमा कम्पनीहरूले आफूलाई स्थापित गर्ने अवसर पाएकाे बताए ।

अध्यक्ष सिलवालले भने, ‘बाढी तथा पहिरोबाट जनधनको ठूलो क्षति भएको छ । क्षतिको बीमा दाबी समयमै दिएर बीमा कम्पनीहरूले आफूलाई स्थापित गर्ने र बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ भनेर प्रमाणित गर्ने बेला हो यो । कम्पनीहरूले अहिलेको चुनौतीलाई अवसरको रूपमा लिएर नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्छ ।’

उनले बाढी तथा पहिरोबाट कृषिक्षेत्रबाहेक सडक र पुलमा मात्रै २७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको उल्लेख गरे ।

अध्यक्ष सिलवालले भने, ‘सरकारले पूर्वाधारमा लगानी मात्र गर्ने होइन, बीमामार्फत लगानीको संरक्षणसमेत गर्नु आवश्यक छ । क्षति भएका स्थानमा नयाँ सडक तथा पुल बनाउनुपर्ने हुन्छ । बीमा नगरेका कारण तिनको निर्माणमा सरकारले थप लगानी गर्नुपर्ने हुन्छ, यसलाई ध्यानमा राखेर सबै संरचनाको बीमा गर्नेतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।’

उनले जलवायु परिवर्तनको असर बढी पर्ने देशमा नेपाल पनि रहेकाले सरकारको नीति तथा रणनीतिमा बीमा समावेश गरी बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरू परम्परागत रूपमा नभई नयाँ संस्करणका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र लघु बीमक संघका अध्यक्ष, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.