२०८१ असोज २३ गते ११:१३ विकासन्युज
काठमाडौं । अम्बे स्टील्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । आईपीओ निष्कासनका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
अम्बे स्टील्स र एनआइएमबि एस क्यापिटलका आधिकारिक व्यक्तिहरूकाे उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।
अम्बे ग्रुप देशको ठूलो व्यावसायिक समूहमध्येमा पर्छ । वार्षिक ४० अर्ब कारोबार गर्ने यस कम्पनीको नेतृत्व शोभाकर (हरि) न्यौपानेले गरिरहेका छन् ।
जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । जय अम्बे स्टील्स लिमिटेडकोउत्पादन क्षमता एक हजार टन प्रतिदिन रहेको छ । ‘अम्बे’ ब्रान्डअन्तर्गत क्षेत्रको ८० प्रतिशत बजार हिस्सा स्टील्सको रहेको कम्पनीको दाबी छ ।
पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँके जिल्लाको नेपालगञ्जमा रहेको छ भने उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टील, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स लगायत उत्पादन गर्दै आएको छ ।
कम्पनीले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराउने बताएको छ । कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाे दाबी गर्दै स्टील आयातको आवश्यकतालाई न्यून गर्दै गएको बताएको छ ।
कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन सर्वसाधारणबाट पुँजी जुटाएर उद्योग विस्तार गर्ने रणनीति लिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.