प्राधिकरणबाट कुलमानलाई हटाउन प्रधानमन्त्री ओलीको प्रयास, १५ बुँदे स्पष्टिकरण माग

  २०८१ असोज २३ गते १५:०२     विकासन्युज

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग १५ बुँदै विवरण मागेका छन् ।

प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजुको अध्यावधिक विवरणलगायतका विवरण मागिएकाे हाे ।

मन्त्री खड्का प्राधिकरणको अध्यक्षसमेत हुन् ।

ऊर्जा मन्त्रालयस्रोतका अनुसार घिसिङलाई १५ दिनकाे समय दिइएकाे छ । १५ दिनभित्र उनले १५ वटै बुँदामा विवरण उपलब्ध गराउनुपर्ने बताइएकाे छ ।

केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि घिसिङलाई नेतृत्वबाट हटाउन लागिपरेका छन् । उनी र मन्त्री खड्का जाेडबलले लागे पनि यसअघि सञ्चालक समितिका दुई जनालाई अदालतले थमौती गरेपछि हच्किएका छन्।

आजै बिहान मन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक बाेलाएका थिए । यद्यपि बैठक स्थगित भएकाे छ । कोरम नपुग्ने भएपछि आज बिहान १० बजेतिर बैठक स्थगित भएको हाे ।

मन्त्रालय स्राेतका अनुसार प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई बाइपास गर्दै मन्त्री खड्काले सञ्चालकहरूलाई बैठकमा आउन निमन्त्रणा पठाएका थिए ।

बैठक बस्न नसकेपछि उनले घिसिङलाई १५ बुँदे स्पष्टिकरण माग गरेका हुन् ।

१५ बुँदे स्पष्टिकरण 

१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवम् आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरू

२. नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी)

३. नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरुका व्यावसायिक संस्थाहरूसँग गरेको विभिन्न मितिका सम्झौता एवम् समझदारी पत्रहरुको विवरण

४. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूमा रहेको प्राधिकरणको सेयर संरचना एवम् ती कम्पनीहरूको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको विवरण । साथै ती कम्पनीहरुमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरूको विवरण

५. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुको विगत ४ वर्षको वित्तीय विवरण

६. नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरूबाट Power Evacuation पूर्ण रूपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरूको विवरण

७. हिमाल पावर लिमिटेडद्वारा प्रवर्द्धित ६० मेगावाटको खिम्ति – १ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण/प्रतिवेदनहरू

८. विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरूको विवरण आदि)  साथै यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था

९. विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमणसम्बन्धि विवरण । ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवम् ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।

१०. डेडिकेटेड फिडर/ट्रंक लाइनसम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवम् सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू

११. नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्र मार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफरमरको अद्यावधिक विवरण (खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नं., खरिद मूल्य एवम् हालको अवस्थासहित)

१२. हाल बोलपत्र आह्वानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु /सामग्रीहरूको विवरण एवम् प्रतिस्थापन कार्ययोजना (परिमाण एवम् अनुमानित लागत रकम सहित )

१३. नेपाल विद्युत प्राधिकरणले आफैले विभिन्न स्थानहरूमा सिमेन्टेड पोल प्लान्टहरु स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरूबाट खरिद भएमा विभिन्न पोलहरूको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरुको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण ।

१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुमध्ये हालसम्म फर्छ्याैट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।

१५. नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रूपमा गत ५ वर्षदेखि को-को कार्यरत रहेका छन् ? उनीहरूको पद र योग्यता खुलेको विवरण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.