२०८१ असोज २८ गते ११:०१ विकासन्युज
काठमाडौं । गत असोज २३ गतेदेखि कामना सेवा विकास बैंकले ६ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा बन्द गर्याे । रुपन्देहीको देवदह नगरपालिका ८ स्थित देवदह मोबाइल एण्ड कम्प्युटर पसल, लमजुङको मध्यनेपाल नगरपालिका ७ रामबजार स्थित ईशानेश्वर इलोक्ट्रोनिक्स, नवलपरासीको कावासोती नगरपालिका १० मगरकोट स्थित विपिन अर्यालसँगको शाखारहित बैंकिङ सेवा बन्द गरिएको बैंकले जनाएको छ ।
यस्तै चितवनको राप्ती नगरपालिका ८ स्थित सुप्रिया थोक तथा खुदा किराना पसल, इलामको रोङ गाउँपालिका ६ सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन र मोरङ्गको मिक्लाजुङ गाउँपालिका ३ धोबेनी बजार स्थित सिमन इन्टरप्राइजेजसँगको शाखारहित बैंकिङ सेवा बन्द गरिएको बैंकको भनाइ छ ।
यस्तै गत साउन १७ गते ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका २२ वटा शाखारहित बैंकिङ सेवा बन्द गर्याे । बैंक सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई सेवा बन्द गरेको जनाएको छ । उक्त स्थानका ग्राहकहरूलाई नजिकैका शाखा कार्यालयबाट बैंकिङ सेवा लिन बैंकले आग्रह गरेको छ ।
शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि सम्झौता भई शाखारहित बैंकिङ प्रतिनिधि (बीएलबी एजेन्ट) को रुपमा काम गर्दै आएकोमा सम्झौता रद्द गरी व्यावसायिक प्रतिनिधि खारेज गरिएको र उक्त प्रतिनिधि (बिएलबि एजेन्ट)हरू मार्फत कुनै पनि बैंकिङ कारोबार नगर्न बैंकले अनुरोध गरेका छन् ।
माथिका केही उदाहरण मात्रै हुन् । पछिल्लो समय बैंकहरूले धमाधम शाखारहित बैंकिङ सेवा बन्द गरिरहेका छन् । विगतको तथ्याङ्क अध्ययन गर्दा ४ वर्षको अवधिमा ६२० वटा शाखारहित बैंकिङ सेवा बन्द भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार १ हजार १०७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकका १ हजार ९० वटा र विकास बैंकका १७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।
४ वर्षअघि अर्थात् वि.सं २०७८ साउनमा १ हजार ७२७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । उक्त संख्या क्रमशः घट्दै वि.सं २०७९ साउनमा १ हजार ५४८, वि.सं २०८० साउनमा १ हजार ३०६ र वि.सं २०८१ साउनमा १ हजार १०७ वटामा झरका छन् ।
तर, शाखारहित बैंकिङ सेवाको संख्या घटेको भएपनि कारोबार रकम भने बढेको नै देखिन्छ । वि.सं २०७८ को साउनमा १ अर्ब ४९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस्तै वि.सं २०७९ को साउनमा १ अर्ब ६५ करोड १० लाख रुपैयाँ, वि.सं २०८० को साउनमा १ अर्ब ७७ करोड ३० लाख रुपैयाँ र वि.सं २०८१ को साउनमा १ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्याउन शाखारहित बैंकिङ सेवाको विस्तार गरिएको हुन्छ । महानगरपालिका तथा उपमहानगरपालिका बाहेक बैंकको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी बैंकिङ सेवा दिने व्यवस्था नै शाखारहित बैंकिङ सेवा हो ।
बैंकको पहुँच बढाउन तथा ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा दिन यस्तो अवधारणा अघि सारिएको हो । शाखारहित बैंकिङमार्फत खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स-सानो ऋण लगानीलगायत सेवा दिइन्छ । यस्तो बैंकिङ सेवा सुगमभन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालन गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था छ ।
शाखा नपुगेका ग्रामीण भेगमा वित्तीय सेवा पर्याउने उद्देश्यले खोलिएका शाखारहित बैंकिङ सेवालाई बैंकहरूले पछिल्लो समय विस्तारै घटाउँदै लगेको तथ्याङ्कले देखाउँछ । साथै शाखारहित बैंकिङमार्फत रकम हिनामिना भएको, सेवा व्यवस्थापन प्रभावकारी हुन नसकेको, नीति निर्देशन विपरित सेवा सञ्चालन भइरहेकाले उक्त सेवा विस्तारै घटाउँदै लगिएको बैंकरहरू बताउँछन् ।
पछिल्लो समय वित्तीय पहुँचको माध्यम पनि बदलिएको र डिजिटल माध्यमको तिव्र विकास भइरहकोले पनि शाखारहित बैंकिङ सेवालाई निरूत्साहित गरिरहेको बैंकरहरूको भनाइ छ । विगतमा शाखारहित बैंकिङको राम्रो प्रभाव रहेपनि पछिल्लो समय घट्दै गएकाले बैंकहरूले प्राथमिकतामा राख्न छाडेको हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.