विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, साढे २१ खर्ब पुग्यो

  २०८१ असोज २९ गते १७:११     विकासन्युज

काठमाडौं । विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति साढे २१ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्म कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशत बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

गत असारसम्म विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारसम्म १५ अर्ब २७ करोड रहेकोमा २ महिनामा ५.० प्रतिशत बढेर १६ अर्ब ४ करोड पुगेको छ ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकमा १९ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ थियो । भदौसम्म बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो ।

भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.