विश्व बैंकको प्रतिवेदन : विवाहपछि ६८ प्रतिशत महिलाले छाड्छन् जागिर, यस्तो छ कारण

  २०८१ कार्तिक १ गते १०:४५     विकासन्युज

काठमाडौं । विश्व बैंकको एक प्रतिवेदनले विवाहपछि जागिर गर्ने भारतीय महिलाको संख्या घटेको देखाएको छ । अर्थात् महिलाले ‘म्यारिज पेनाल्टी’ को सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

विवाहपछि पुरुषले कुनै काम गरेमा त्यसलाई राम्रो मानिन्छ । तर, महिलाको हकमा भने अवस्था बिल्कुल उल्टो रहेको विश्व बैंकको उक्त प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार अधिकांश परिवारले आफ्ना नवविवाहित बुहारीलाई जागिर गर्न दिँदैनन् । विवाहअघि महिलाले बाबुआमाको घरमा काम गरिरहेको भए पनि विवाहपछि भने जागिर छोड्न लगाइने गरेका कारण महिलाको रोजगारी दर निरन्तर घट्दै गएको छ ।

प्रतिवेदनका अनुसार भारतमा विवाहपछि महिला रोजगारी दर १२ प्रतिशतले घटेको छ, जुन सन्तान नभएको अवस्थामा पनि विवाहपूर्व महिला रोजगारी दरको झण्डै एक तिहाइ हो । उल्टो विवाहपछि पुरुषको रोजगारीको दर १३ प्रतिशतले बढेको छ ।

‘भारत र माल्दिभ्समा बच्चा नभएका महिलाहरूमा विवाहको नियम विवाहपछि पाँच वर्षसम्म कायम रहन्छ । अर्कोतर्फ महिलालाई बालबालिकाको जिम्मेवारीसँग पनि जोडिएको देखिन्छ । जसका कारण महिलाले काम गर्न पाएका छैनन् वा जागिर छाड्नुपरेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

भारतमा मात्रै नभई सम्पूर्ण दक्षिण एसियामा महिलाको रोजगारी दरमा गिरावट आएको छ । प्रतिवेदनले दक्षिण एसिया ‘महिला, रोजगारी र विकास’ मा केन्द्रित रहे पनि महिलाको रोजगारी दर घटेको देखाएको छ । सन् २०२३ मा दक्षिण एसियामा काम गर्ने उमेरका महिलामध्ये ३२ प्रतिशतमात्रै कार्यरत थिए । जहाँ पुरुषको रोजगारी दर ७७ प्रतिशत थियो । यस्तो अवस्थामा महिलाको सहभागिता निकै कम रह्यो ।

प्रतिवेदनमा महिलाको श्रमशक्ति सहभागिता दरलाई पुरुषको बराबरीमा पुर्‍याउने हो भने कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा वृद्धि हुने उल्लेख छ । यसो गर्दा दक्षिण एसियाको क्षेत्रीय कुल ग्राहस्थ उत्पादन १३ देखि ५१ प्रतिशत बढी हुने प्रतिवेदनले जनाएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.