एक लाख डलरसम्मका मेडिकल उपकरण विमानस्थलबाट ल्याउन पाइने, डलर सटहीको सीमा बढ्यो

  २०८१ असोज ३० गते १७:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक लाख अमेरिकी डलर मूल्यसम्मका मेडिकल सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्काल विदेशबाट मगाउनुपरेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर एक लाख मूल्यसम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था गरेको हो ।

सामान आयात वा निर्यातका सिलसिलामा पोर्ट अथोरिटी, ढुवानी/कन्टेनर सेवा प्रदायक वा सोसम्बन्धी कार्य गर्ने निकाय/संस्थामा तिर्नुपर्ने डेमुरेज तथा डिटेन्सन शुल्कको लागि सम्बन्धित आयात/निर्यातका लागि जारी भएको ढुवानीसम्बन्धी कागजातको प्रतिलिपि र सो ढुवानी कागजातको नम्बर समेत उल्लेख भई सम्बन्धित निकाय/संस्थाबाट जारी भएको बिल बिजकको आधारमा सटही प्रदान गर्न सकिने उल्लेख गरेको छ ।

उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकहरूलाई प्रकिया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर १५ हजारसम्म सटही सुविधा प्रदान गर्न सक्नेछन ।

बाह्य मुलुक गई उपचार गराउन चाहने वा गर्नुपर्ने व्यक्तिले नेपालका अस्पतालमा स्वास्थ्य परीक्षण गराई वाह्य मुलुक गई उपचार गराउन उपयुक्त हुने भनी स्वदेशका डाक्टरले उपलव्ध गराएको सिफारिसपत्र तथा विदेशस्थित अस्पतालबाट उपचारमा लाग्ने अनुमानित खर्च उल्लेख भएको कागजात पेस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

परिवत्र्य विदेशी मुद्राको स्रोत भएका संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई त्यस्तो खाताको मौज्दातले खामेसम्म उपदफा १ र २ मा उल्लिखित सीमा र कागजातको अधीनमा रही परिवत्र्य विदेशी मुद्रामा समेत पारिश्रमिकको रिप्याट्रियशन सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.