दशैंमा २ लाख ३७ हजारले गरे हवाई यात्रा

  २०८१ असोज ३० गते १८:०४     विकासन्युज

काठमाडौं । बडादशैंको ५ दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल २ लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्यांक अनुसार दशैंको फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ १ लाख ६० हजार ९ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार ५ सय १२ जनाले हवाई यात्रा गरेका हुन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दशैंको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ २ हजार १ सय ५९ र अन्तर्राष्ट्रियतर्फ ७ सय ८१ गरी कुल २ हजार ९ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको संख्या हो ।

दशैंको दुुई दिन अर्थात् असोज २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी÷महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार २ सय ४२ जनाले हवाई यात्रा गरेका थिए । असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल ४ लाख २७ हजार ९ सय ४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ २ लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन् ।

यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ ५ हजार १ सय ८ र अन्तर्राष्ट्रियतर्फ १ हजार ७ सय ४४ गरी कुल ६ हजार ८ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५ सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७ सय ४ जनाले हवाई यात्रा गरेका थिए । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन् । दशैंको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एयरलाइन्सका विमानले उडान भरे ।

निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए । यि कम्पनीसँग ठूला र मझौला विमान छन् । बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एयरलाइन्सस ८० सिट क्षमताका ‘ड्यास एट’ विमान छन् । समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.