सकसबाट उठ्दै, व्यापारमा छलाङ

  २०८१ कार्तिक १ गते १७:२३     विकासन्युज

काठमाडौं । दुई वर्षअघि ह्वात्तै व्यापार घटेको भगवती स्टील उद्योग पूर्ववत अवस्थामा फर्किएको छ । सन् २०२१ अघि ३ अर्बभन्दा बढीको कारोबार गर्ने यो उद्योगले सन् २०२२ मा ठूलो व्यापार घाटा बेहाेरेकाे थियाे । अहिले पुनः पुरानै लयमा उद्योग फर्किएको छ ।

बारामा सञ्चालित भगवती स्टील उद्योगले सन् २०२४ मा ३ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । उद्योगको सन् २०२३ को तुलनामा व्यापार ४४ करोडले घटे पनि दुई वर्षको अवधिमा भने व्यापार दोब्बर भएको देखिएको छ ।

उद्योगले सन् २०२३ मा ३ अर्ब ५७ करोड ८० लाख रुपैयाँको स्टिलजन्य वस्तुको व्यापार गरेको थियो भने सन् २०२२ मा १ अर्ब ८३ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२२ को तुलनामा सन् २०२३ मा उद्योगको व्यापार ९५ प्रतिशतले बढेको थियो । सन् २०२२ को तुलनामा अहिले व्यापार ७० प्रतिशतले बढेको छ ।

सन् २०२२ स्टीलको माग नभएपछि उद्योगले ठूलो व्यापार गुमाउनु परेको थियो । सन् २०२३ को तुलनामा सन् २०२४ मा भने व्यापार १२.५२ प्रतिशतले घटेको देखिएको छ । सन् २०२१ मा उद्योगले ३ अर्ब २२ करोड रुपैयाँ कारोबार गरेको थियो । अहिलेको व्यापारले उद्योगको व्यापार पुरानै लयमा फर्किएको बुझिन्छ ।

सन् १९९१ मा स्थापना भएको भगवती स्टिलले पाइप, सिट, डोर, विन्डो फ्रेम, सटर प्रोफाइल, साइट च्यानल, ट्रस, पोल टावर, सस्पेन्सन्स ब्रिज र मोटोरेवल बिज्रको उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादन वार्षिक क्षमता ८५ हजार ५ सय टन रहेको छ ।

उद्योगले २ अर्ब ३५ करोड ६० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । उद्योगले दीर्घकालका लागि १७ करोड ६० लाख र अल्पकालका लागि २ अर्ब १७ करोड ९० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो । उद्योगले केयर एनपी ए थ्री रेटिङ पाएको छ । उद्योगी सुमितकुमार अग्रवालले नेतृत्व गरिरहेको यो उद्योगले तीन दशकदेखि स्टील उत्पादन गर्दै आएको छ ।

एमएस ग्रुपअन्तर्गत पर्ने भगवती स्टील उद्योगले तीन वर्षअघि कोरोनाको मार खेप्नुपरे पनि अहिले विस्तारै पूर्ववत अवस्थाकै व्यवसाय गर्ने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.