ब्याजदर घटेको मौका छोप्यो निफ्राले, ६ प्रतिशत ब्याजमा ५ अर्ब ऋणपत्र जारी गर्दै

  २०८१ कार्तिक १ गते १८:३४     विकासन्युज

काठमाडौं । निक्षेपको ब्याजदर घटेको अवसरमा नेपाल इन्फ्रास्ट्राक्चर बैंकले सस्तो ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको छ । बैंकले ७ वर्ष अवधिका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो ।

उक्त ऋणपत्रको नाम ‘निफ्रा उर्जा ऋणपत्र ६%, २०८८/८९’ राखिएको छ । हाल बैंकहरूले निक्षेपमा बढीमा ५ प्रतिशतमात्र ब्याज दिइरहेको अवस्थामा निफ्राले ६ प्रतिशतमा जारी गर्ने ऋणपत्र बजारमा बिक्ने सम्भावना अधिक छ ।

दुई वर्षअघि बैंकहरूले मुद्दतीमा दिने ब्याजदरभन्दा १ प्रतिशत कम व्याजदरमा बैंकहरूले ऋणपत्र बिक्री गरेका थिए । तरलता अभावको समयमा वाणिज्य बैंकहरूले १० देखि १२ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काषन गरेका थिए ।

कुल ५ अर्ब रूपैयाँको ऋणपत्रमा ६० प्रतिशत परिपत्र विधिबाट संस्थाहरूको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काषन गरिने बैंकले जनाएको छ । बैंकले ऋणपत्र निष्काषन गर्नका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्काषन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काषन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र निष्काषन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । ऋणपत्र निष्काषनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिने प्रक्रिया अगाडि बढेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.