कसले पाउँछ टाटाको ७९ अर्ब भारु ? यी चार जनालाई दिइएको थियो जिम्मेवारी

  २०८१ कार्तिक २ गते १३:०६     विकासन्युज

काठमाडौं । टाटा समूहका अध्यक्ष रतन टाटाको निधन भएपछि उनकाे सम्पत्तिकाे विषयमा व्यापक बहस भइरहेकाे छ । उनले करिब ७ हजार ९ सय करोड भारुको सम्पत्ति छोडेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार  उनले आफ्नो वकिल साथी डारियस खम्बाटा र सहयोगी मेहली मिस्त्रीलाई आफ्नो वसियत अरूलाई सुम्पने जिम्मेवारी दिएका छन् ।

यसका लागि रतनले आफ्नी सौतेनी बहिनी शिरीन र डिएना जीजीभोयलाई पनि मनोनयन गरेका छन् । रतनको ८६ वर्षको उमेरमा ९ अक्टोबरमा निधन भएको थियो । उनका सौतेनी भाइ नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बनेका छन् । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्समा टाटा ट्रस्टको ६६ % हिस्सेदारी छ । टाटा समूह देशको सबैभन्दा ठूलो औद्योगिक व्यावसायिक घराना हो ।

हुरुन इन्डिया रिच लिस्ट २०२४ का अनुसार रतन टाटाको टाटा सन्समा ०.८३ % सेयर थियो र उनको कुल सम्पत्ति ७ हजार ९ सय करोड भारु थियो । टाटा आफ्नो सम्पत्तिको ठूलो हिस्सा परोपकार र सामाजिक कल्याणमा दिन चाहन्थे । उनको कुल सम्पत्तिको झण्डै तीन चौंथाइ टाटा सन्समा रहेको उनको हिस्सेदारीमा जोडिएको छ ।

यसबाहेक टाटाले ओला, पेटीएम, ट्र्याक्सन, फर्स्टक्राइ, ब्लुस्टोन, कारदेखो, नगद कारो, अर्बन कम्पनी र अपस्टक्सलगायत करिब दुई दर्जन कम्पनीमा लगानी गरेको थियो । तर, तीमध्ये केही कम्पनीले आफ्नो सेयर बेचेका छन् ।

कहाँ-कहाँ छ लगानी ?

रतनकाे घर मुम्बईको कोलाबामा थियो । साथै उनकाे अलिबागमा अरब सागरको तटमा हाेलिडे घर पनि थियाे । रतनकाे वसियतकाे विवरण पूर्ण रूपमा गाेप्य राखिएकाे छ । मेहली मिस्त्री रतन टाटाका विश्वासपात्र थिए र सर दोराबजी टाटा ट्रस्ट र रतन टाटा ट्रस्टका बोर्डहरूमा ट्रस्टी थिए । यी दुई ट्रस्टको टाटा सन्समा लगभग ५२ % हिस्सेदारी छ । समूहको सूचीबद्ध कम्पनीहरूमा टाटा सन्सको सेयरको बजार मूल्य लगभग १६.७१ लाख करोड भारु रहेकाे छ ।

जीजीभोय बहिनीहरू रतन टाटाकी आमा सुनुका छोरी हुन् । उनकी आमाको दोस्रो विवाह सर जमशेदजी जीजीभोयसँग भएको थियो । टाटाका दिदीबहिनीहरूले सधैं परोपकारी कार्यमा सक्रिय हुँदै आएका छन् ।

डायना सन् १९९० र २००० को सुरुमा रतन टाटा ट्रस्टको बोर्डमा ट्रस्टी थिइन् । टाटामा काम गर्ने एक स्रोतले स्वर्गीय रतन टाटा आफ्ना कान्छी बहिनीहरूसँग धेरै नजिक भएको जानकारी दिए ।

को हुन् मेहिल मिस्त्री ?

रतन टाटाको वसियत (इच्छापत्र) तयार गर्न अधिवक्ता खम्बाटाले सहयोग गरेको स्रोतले जनाएको छ । करिब सात वर्षको अन्तरालपछि उनी गत वर्ष टाटाका दुई प्राथमिक ट्रस्टको ट्रस्टीको रूपमा फर्किए । उनले व्यावसायिक प्रतिबद्धता जनाउँदै २०१६ मा ट्रस्ट छोडेका थिए । नियमअनुसार मृतकको इच्छा कार्यान्वयन गर्न एकजना कार्यकारी हुनु आवश्यक छ ।

रतन टाटाले सन् २०२३ सम्ममा आफ्नो व्यक्तिगत लगानी वाहन आरएनटी एसोसिएट्स प्रालिमार्फत १८६ करोड भारु लगानी गरेका थिए । मिस्त्री र रतन टाटा आरएनटी एसोसिएट्सका दुई मात्र बोर्ड सदस्य थिए । मेहिल मिस्त्री टाटा सन्सका पूर्व अध्यक्ष दिवंगत साइरस मिस्त्रीका भाइ हुन् । टाटा सन्सको अध्यक्ष पदबाट साइरस मिस्त्रीलाई हटाउने विवादमा उनले रतन टाटालाई निरन्तर समर्थन गरेका थिए । उनी पछिल्ला वर्षहरूमा रतन टाटाको स्वास्थ्यको हेरचाहमा पनि संलग्न थिए ।

अक्टोबर २०२२ मा मिस्त्रीलाई टाटाका दुई ठूला ट्रस्टहरूको बोर्डमा समावेश गरियो । उनी एम. पल्लोन्जी ग्रुपका एक दर्जनभन्दा बढी कम्पनीको बोर्डमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.