महिलाले सञ्चालन गरेको डेरी उद्योगमा मासिक १० लाखको कारोबार

  २०८१ कार्तिक ३ गते १२:०९     विकासन्युज

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा संकलन भएको दूधजन्य पदार्थ बिक्रीका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो ।

डेरीबाट उत्पादित दूधजन्य वस्तुहरू आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताका लागि टाउन चोकमा पसल सञ्चालन गरिएको सहकारीका व्यवस्थापक संगीता ओझाले जानकारी दिइन् ।

सहकारीले सञ्चालन गरेको डेरीबाट उत्पादित दूधजन्य पदार्थहरू दूध, दही, घ्यू, पनिर, कुल्फी, आइसक्रिम र खुवा अबदेखि उक्त पसलबाट पनि बिक्री वितरण गरिने ओझाले बताइन् ।

उनका अनुसार अनुसार डेरी उद्योगमार्फत मासिक १० लाखको दूधजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीलाई देवघाट गाउँपालिकाले दूधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित वस्तुहरूको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ ।

देवघाटका महिलाले सञ्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दूध संकलन, दूधजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपालन, तरकारीखेती तथा सामूहिक रूपमा नगदेबालीको खेतीजस्ता आयआर्जनको काममा सदस्यलाई आबद्ध गराउँदै आएको छ ।

उक्त सहकारीमा हाल दैनिक पाँच सय ७० लिटर दूध संकलन हुँदै आएको छ । संकलित दूधलाई आफ्नै भवनमा रहेको उद्योगबाट विभिन्न वस्तु बनाई बिक्री गर्दै आइरहेको सहकारीका अध्यक्ष तारादेवी पन्तले जानकारी दिइन् ।

उनका अनुसार दूधबाट दूधजन्य पदार्थ दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवालगायत उत्पादन हुँदै आएको छ । सहकारीमा हाल सात सय ९४ जना शेयर सदस्य रहेका छन् ।

सहकारीमा देवघाटको वडा नम्बर १, ४ र ५ का महिला सदस्य छन् । शेयर सदस्यमध्ये अधिकांश पशुपालनमा संलग्न छन् । शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिदगरी दूधजन्य वस्तु उत्पादन गरी बिक्री गर्दै आइएको छ ।

उत्पादित दूधजन्य वस्तु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौँडा, कावासोती, गैँडाकोटलगायत बजारमा डेरी पसलमार्फत बिक्री गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.