महाशिलामा ७ करोडका पर्यटकीय पूर्वाधार निर्माण

  २०८१ कार्तिक ४ गते ७:०८     विकासन्युज

काठमाडौं । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला (ढु्ङ्गा)मा ७ करोड रुपैयाँको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ । सडकमार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको लगानीमा विभिन्न संरचना निर्माण गरिएका हुन् । सदरमुकाम कुश्माबजारबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने महाशिलामा रहेको यो ठूलो ढुङ्गा स्थानीयस्तरमा मेहलढुङ्गाको नामले परिचित छ । यसको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत ४ करोड १२ लाख रुपैयाँको लागतमा पर्यटकका लागि सुविधासम्पन्न आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा महाशिला परिसरमा १ करोड रुपैयाँको लागतमा १०८ गौमुखी धारा, महाशिला परिक्रमा गर्ने पदमार्ग, मुख्य गुफा तथा पुरानो संरचना संरक्षणलगायत पूर्वाधार तयार गरिएको छ ।

नेपाल पर्यटन बोर्डमार्फत रु ११ लाखको लागतमा ट्रष्ट भवन बनाइएको छ भने गाउँपालिकाले पनि विभिन्न संरचना तथा सडक पूर्वाधारमा लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत सङ्घीय मन्त्रालयमार्फत १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए।

उनका अनुसार उक्त बजेट महाशिला परिसरमा पर्खाल निर्माण तथा आश्रम भवनमा आवश्यक सामग्री खरिदलगायतमा खर्चिने भएको छ । केही वषअघिसम्म आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा अहिले धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउन थालेको अध्यक्ष पौडेलको भनाइ छ ।

लुुङ्खुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायत जिल्लाबाट सिधैँ पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताउनुभयो । महाशिला एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किंवदन्ती छ । एकपटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्छ । यहाँ हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायत चाडपर्वमा मेला लाग्छ ।

महाशिला गाउँपालिकाको नामकरण यही शिलाको नामबाट गरिएको हो । १३० मिटर अग्लो शिला झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गासमेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए ।

महाशिला गाउँपालिकाले यसको विकासका लागि ७० करोड रुपैयाँको गुरुयोजनासमेत बनाएको छ । गुरुयोजनाअनुसार काम अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । सङ्घीय र प्रदेश सरकारसँगको पहलमा गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.