जीडीपीको ४४.२३ प्रतिशत पुग्यो सार्वजनिक ऋण, महिनामै २९ अर्ब ३६ करोड भुक्तानी

  २०८१ कार्तिक ४ गते १२:०४     विकासन्युज

काठमाडौं । असोज महिनामा सार्वजनिक ऋण घटेको छ । भदौ महिनाको तुलनामा असोजमा ५ अर्ब ५८ करोड रुपैयाँ ऋण घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

भदौ मसान्तसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ थियो । असोज मसान्तसम्म आइपुग्दा तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँमा झरेको छ । जसमध्ये १२ खर्ब ३६ अर्ब ३० करोड आन्तरिक र १२ खर्ब ८६ अर्ब ७३ करोड बाह्य ऋण सरकारले तिर्न बाँकी छ ।

समग्रमा कुल ग्राहस्थ उत्पादनको ४४.२३ सार्वजनिक ऋण रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोजमा खास गरी विदेशी मुद्रा विनिमयमा आएको उताढचढावले गर्दा ऋण घटेको हो ।

असोजमा २९ अर्ब ३६ करोड रुपैयाँ ऋण सरकारले तिरेको छ । त्यसैगरी, ३२ अर्ब २६ करोड ऋण सरकारले प्राप्त गरेको छ । विदेशी विनिमय दर घटबढले असोजमा ८ अर्ब ४८ करोड रुपैयाँ नेपालको ऋण घटेको छ ।

नेपाल सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष राखेको छ । जसमध्ये असोज मसान्तसम्ममा १ खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ ऋण प्राप्ति गरेको छ । अर्थात वार्षिक लक्ष्यको २४.९२ प्रतिशत ऋण सरकारले परिचालन गरेको छ । जसमध्ये आन्तरिक तर्फ २३.८५ र वाह्य तर्फ ९.८९ प्रतिशत ऋण सरकारले परिचालन गरेको कार्यलयको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य राखेको थियो । जसमध्ये पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ सरकारले भुक्तानी गरेको छ । जुन कुल भुक्तानी लक्ष्यकाे २०.६२ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.