चर्कियो रास्वपाको आन्दोलन, सीडीओ कार्यालयले गर्यो निषेधाज्ञा

  २०८१ कार्तिक ४ गते १२:५३     विकासन्युज

कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीले विरोध चर्काएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ भएका लामिछानेलाई रिहाइको माग गर्दै रास्वपाले पोखरालक्षित आन्दोलन चर्काएको हो । पोखरामा रास्वपाका नेता तथा कार्यकर्ताको संख्या बढेर आन्दोलनले उग्र रूप लिने संकेत पाएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा पनि जारी गरेको छ ।

रास्वपाले सीडीओ कार्यालयले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

‘निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,’ सूचनामा भनिएको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भएको छ ।

अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् । निषेधित क्षेत्रबाट रास्वपा नेता/कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.