१९ करोड रुपैयाँमा राजविराज हटियामा ‘सपिङ कम्प्लेक्स’ बन्दै, सबै लगानी नगरपालिकाको

  २०८१ कार्तिक ५ गते ६:४३     विकासन्युज

काठमाडौं । सुन्दर हाट र व्यवस्थित बजार बनाउने उद्देश्यले राजविराज हटियामा ‘सपिङ कम्प्लेक्स’ निर्माण गरिएको छ । दुईतले उक्त कम्प्लेक्स निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पाँच वर्षअघि राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवको नेतृत्वमा थालिएको कम्प्लेक्स निर्माण सम्पन्न हुन लागेको हो । राजविराज–७ स्थित हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले प्राप्त गरेको कूल ३५ करोड रुपैयाँमध्ये १९ करोड रुपैयाँमा भवन निर्माण थालिएकोे हो ।

निर्धारित समयमा भवन सम्पन्न नहुँदा हटिया वरपर जथाभावी पसलहरु सञ्चालन हुँदै आएका छन् । जथाभावी सागसब्जी, किराना पसल, फलफूल, विभिन्न कस्मेटिक समान, चामल, भाँडावर्तन, दाउरा नाङ्लो बेच्ने व्यापारी अव्यवस्थित रुपमा बसेर बिक्री गर्न बाध्य छन् ।

स्थानीय व्यापारी श्रवण दासले हटिया व्यवस्थित गर्न निर्माण थालिएको सपिङ कम्प्लेक्स निर्माणले गति लिएपछि छिट्टै व्यवस्थित भवनमा बसेर व्यापार गर्न पाइने आशा गरेका छन् । सपिङ कम्प्लेक्सको ९० प्रतिशत काम सकिएर ढल निकासीका लागि नाला बनाउने काम भइरहेको कार्यवाहक नगरप्रमुख इसरत परविनले बताए ।

सपिङ कम्प्लेक्समा ३०८ कोठा रहने छन् । भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोसन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण भइरहेको छ । ठेकेदारको लपरबाहीका कारण निर्धारित समयभन्दा तीन वर्ष ढिला भएको हो ।

सपिङ कम्प्लेक्स भवन निर्माण छिटो सम्पन्न नहुँदा हाल राजविराजको राम मन्दिर देखि पानीट्याङकी रोड बिच सडकमा हाट लगाउँदा सर्वसाधारण तथा सवारी चालकहरुलाई आवतजावतमा समस्या हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.