२०८१ कार्तिक ५ गते १५:२२ विकासन्युज
काठमाडौं । दुई महिनाको अवधिमा १६ हजार ऋणी थपिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा १५ हजार ९२९ ऋणी थपिएका हुन् । यससँगै बैंक तथा वित्तीय संस्थाहरूमा ऋणीहरूको संख्या १९ लाखभन्दा बढी पुगेको छ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलतासँगै बैंकहरू नयाँ ऋणीको खोजीमा छन् । निक्षेपकर्तासँगै बैंकहरूले कर्जाका ऋणीको संरक्षणमा पनि अथक मिहिनेत गर्छन् । जसकारण यो अवधिमा १६ हजार नयाँ ऋणी थपिन पुगेका हुन् । ऋणीको संख्या बढ्नुलाई आर्थिक गतिविधि बढ्नु र अर्थतन्त्र चलायमान हुने विश्वास गरिन्छ । ऋण लिएर उद्यम गर्नुलाई सकारात्मक पक्षका रूपमा लिइन्छ ।
यस अवधिमा वाणिज्य बैंकहरूमा १६ हजार १६१ नयाँ ऋणी थपिएका छन् । नयाँ ऋणी थपिएसँगै वाणिज्य बैंकमा कर्जातर्फ ग्राहकहरूको संख्या १५ लाख ८३ हजार ६६९ ऋणी पुगेकाे छ । जबकि गत असारसम्म वाणिज्य बैंकमा १५ लाख ६७ हजार ५०८ ऋणी थिए ।
यस्तै, फाइनान्स कम्पनीहरूले पनि दुई महिनाको अवधिमा ३८९ नयाँ ऋणी थपेका छन् । भदौसम्म फाइनान्स कम्पनीमा ४३ हजार ५२४ ऋणका ग्राहक रहेका छन् । दुई महिनाअघि अर्थात् गत असारमा ४३ हजार १३५ ऋणी थिए ।
वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूले ऋणीको संख्या थप्दा विकास बैंकमा भने ऋणीहरू घटेका छन् । विकास बैंकहरूले दुई महिनामा ६२१ ऋणी गुमाउनु परेको छ । अर्थात् असारको तुलनामा भदौमा विकास बैंकका ६२१ ऋणी बाहिरिएर २ लाख हजार ६ ऋणीमात्रै छन् । जबकि गत असारसम्म २ लाख ८२ हजार ६२७ ऋणी थिए ।
बैंकरहरूका लागि निक्षेपकर्ता खोज्न जति सहज हुन्छ, त्यति नै असहज कर्जाका ऋणी खोज्न हुने गरेको बताउँछन् । कर्जा लिने व्यक्ति तथा संस्था खोज्न बैंकरहरूले धेरै संघर्ष गर्नुपर्ने हुन्छ ।
लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उमेश रेग्मी यस अवधिमा कर्जा असुली राम्रो भएकाले ऋणीको संख्या घट्न पुगेको बताउँछन् । साथै वाणिज्य बैंकहरूले समेत विकास बैंकका ऋणीलाई तानेका कारण संख्या कम देखिएको उनको भनाइ छ ।
‘विकास बैंकका ऋणीहरूको संख्या घटेकाले कर्जा प्रवाह पनि घटेको छ, नयाँ कर्जाको माग छैन, कोही ऋणीले कर्जा चुक्ता गरेर बसेका छन्, कोही ऋणी बाहिरिएका छन्, कोही ऋणीलाई वाणिज्य बैंकहरूले तानेका छन्,’ उनले भने, ‘माहोल बनेन, व्यवसाय सुधार भएन भन्नुहुन्छ, उहाँहरू जग्गा जमीन बेच्दै कर्जा चुक्ता गरेर बस्नु भएको छ, समग्रमा कर्जाको माग छैन, पर्ख र हेरको अवस्थामा छन् ।’
साथै विकास बैंकका ऋणीहरू ठूला हुने भएकाले वाणिज्य बैंकमा पनि पहुँच राख्ने भएकाले बाहिरिएको उनले बताए । साथै वाणिज्य बैंकमा ब्याजदर सस्तो भएकाले पनि विकास बैंकका ऋणी निस्किएको हुन सक्ने डीसीईओ रेग्मीको भनाइ छ ।
‘विकास बैंकका ऋणीहरू वाणिज्य बैंकमा जाने ल्याकत राख्छन्, पहुँच पुर्याउँछन् किनभने उहाँहरूको कर्जाको आकार पनि ठूलो नै हुन्छ, त्यसैले विकास बैंकका ऋणीहरू वाणिज्य बैंकतिर गएका हुन सक्छन्,’ उनले भने, ‘साना ऋणीहरू सम्पत्ति बेचेर कर्जा चुक्ता गरेर बस्नु भएको छ, जसले खराब कर्जा पनि उठेको छ, एनपीएमा परेका केही कर्जालाई बैंक आफैले सेटल गराएका छन् ।’
राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल वाणिज्य बैंकमा ऋणीको संख्या बढेको भएपनि कर्जाको आकार भने नढबेको बताउँछन् । पछिल्लो समय वाणिज्य बैंकहरू आक्रामक रूपमा कर्जा विस्तारमा लागेको भएपनि त्यसको नतिजा आउन नसकेको उनकाे भनाइ छ ।
‘कर्जा खासै वृद्धि भएको छैन, किनभने कर्जाको आकार त्यति धेरै बढेको देखिँदैन, बजारमा माग छैन,’ उनले भने, ‘सुन कर्जामा स-साना रकमका ऋणी हुन्छन्, त्यसैले ऋणीको संख्या बढेको छ भने सुन कर्जा बढी गएको हुन सक्छ ।’
विकास बैंकबाट ऋणी तानेको आरोप लगाएपनि ग्राहकले सहुलियत हेर्ने वाणिज्य बैंकका कार्यरत अधिकारीहरू बताउँछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.