रतन टाटाले छोड्नेबित्तिकै टाटा समूहमा ठूलो परिवर्तन, कसलाई हुन्छ फाइदा ?

  २०८१ कार्तिक ५ गते १७:४९     विकासन्युज

काठमाडौं । भारतीय उद्योगपति रतन टाटाको  निधन भएको केही दिनमात्रै बितेकाे छ । उनको स्थानमा उनका सौतेनी भाइ नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेका छन् ।

टाटा समूह भारतको सबैभन्दा ठूलो औद्योगिक व्यावसायिक घराना हो । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्समा टाटा ट्रस्टको करिब ६६ प्रतिशत हिस्सेदारी छ ।

बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्सजस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल सेयरधारक हो ।

टाटा सन्सको नेटवर्थ १६५ बिलियन डलर रहेकाे छ । यसबाट टाटा ट्रस्टको महत्त्व अनुमान गर्न सकिन्छ । नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेपछि यसमा महत्त्वपूर्ण परिवर्तन भएको छ ।

बिजनेस पत्रिका मिन्टको रिपोर्टअनुसार सर रतन टाटा ट्रस्ट र सर दोराबजी टाटा ट्रस्टका ट्रस्टीकाे स्थायी सदस्य बनेका छन् । यसअघि निश्चित अवधिका लागि नियुक्ति हुने गरेको थियो । दुवै ट्रष्टको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अक्टोबर ११ मा ६७ वर्षीय नोएल टाटालाई टाटा ट्रस्टको अध्यक्ष बनाएपछि ट्रस्टको यो दोस्रो बैठक थियो । टाटा सन्समा सर रतन टाटा ट्रस्टको २७.९८ प्रतिशत र सर दोराबजी टाटा ट्रस्टको २३.५६ प्रतिशत हिस्सेदारी छ । यसको मतलब यी दुवै ट्रस्टको टाटा सन्समा ५० प्रतिशतभन्दा बढी हिस्सेदारी छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सर रतन टाटा ट्रस्ट र सर दोराबजी टाटा ट्रस्टका सबै सदस्यहरू अब स्थायी सदस्य हुनेछन् । अहिलेसम्म उनीहरूकाे कार्यकाल तीन वर्षका लागि मात्रै थियो । सर रतन टाटा ट्रस्ट १९१९ मा र सर दोराबजी टाटा ट्रस्ट १९३२ मा स्थापित भएको थियो ।

रतन टाटाको इच्छा

सर रतन टाटा ट्रस्टमा सात सदस्य छन् भने सर दोराबजी टाटा ट्रस्टमा छ सदस्य छन् । नोएल टाटासँगै पूर्वरक्षा सचिव विजय सिंह, वेणु श्रीनिवासन, मेहली मिस्त्री र वकिल डारियस खम्बाटा दुवै ट्रस्टमा सामेल छन् ।

मेहली मिस्त्री र डारियस खम्बाटा स्वर्गीय रतन टाटाका निकट मानिन्छन् । रतन टाटाले आफ्नो इच्छा पूरा गर्ने जिम्मेवारी मेहली मिस्त्री र डारियस खम्बाटालाई सुम्पिएका छन् । रतन टाटाले लगभग ७ हजार ९०० करोड भारु सम्पत्ति छोडेका छन् । एजेन्सी

यो पनि पढ्नूहोस् : कसले पाउँछ टाटाको ७९ अर्ब भारु ? यी चार जनालाई दिइएको थियो जिम्मेवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.