सहकारीको रकम भ्रष्टाचार गर्नेलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ : वामदेव गौतम

  २०८१ कार्तिक ५ गते १७:०९     विकासन्युज

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा(एमाले)को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन् । सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका हुन् ।

उनले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमाले बाहिर बस्नुपरेको पनि बताए । विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थलमार्ग बन्द गर्न आफुले आग्रह गरेको भएपनि सरकारले नसुनेका कारण पछिल्लो विपद्मा क्षति भोग्नुपरेको बताए । आफूले अध्ययन गरेर पुनः विपद् आउँदैछ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भएपनि कुरा नसुनिएको जानकारी दिए ।

उनले प्रधानमन्त्रीलाई नेपालको भौगर्भिक अवस्थाको अध्ययन गर्न आग्रह गरे । राष्ट्रिय सभा सदस्य गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने बताए । सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरुलाई नै बन्द गर्नुपर्ने धारणा राखे ।

‘नेपाली समाजवादको एउटा रुप हो सहकारी भनेको सहकारीले हामीलाई समाप्त गर्यो । जहाँसुकै भ्रष्टाचार । सहकारी भ्रष्टाचार गर्ने व्यक्तिहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्छ’, उनले भने ।

जमिन राज्यको मातहतमा नआएसम्म विकास हुन नसक्ने भन्दै नेपालको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याउनुपर्ने बताए । क्षतिपूर्ति दिएर जमिन राष्ट्रियकरण गर्नुपर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.