‘इन्धनका गाडीभन्दा ईभी किन्न ऋण दिऔं, नयाँ घर बनाउन कम कर्जा दिऔं’

  २०८१ कार्तिक ५ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वातावरणमैत्री लगानी गर्नका लागि निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार ‘हरित लगानीसम्बन्धी मार्गदर्शन’ जारी गर्दै उक्त निर्देशन दिएको हो ।

राष्ट्र बैंकले निर्देशनमार्फत् लगानीका लागि विभिन्न १७ वटा क्षेत्र छुट्याएको छ । अब बैंक तथा वित्तीय क्षेत्रले अन्य क्षेत्रभन्दा पनि ती क्षेत्रहरूमा लगानी गर्नका लागि प्राथमिकता दिनु पर्नेछ ।

निर्देशनमा प्राकृतिक स्रोतहरूको संरक्षण, प्रदूषण नियन्त्रण, जलवायु परिवर्तन न्यूनीकरण र वातावरणीय स्थायित्वमा आधारित परियोजनाहरूमा वित्तीय लगानीलाई प्राथमिकता दिन लगाइएकाे छ ।

प्राकृतिक प्रकोपको न्यूनीकरणका लागि वित्तीय क्षेत्रको भूमिका रहने उल्लेख गर्दै लगानीमा पनि ध्यान दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकले कृषि तथा वनसम्बन्धित कर्जा, माछापालन, खानी, वन तथा बेभरेज, गैर खाद्यपदार्थ उत्पादन, निर्माण, पावर, ग्यास तथा पानी, धातुजन्य उत्पाद तथा मेसिनरी र इलेक्ट्रोनिक उपकरण, यातायात, थोक तथा खुद्रा, वित्त तथा बीमा, घरजग्गा, पर्यटन, अटोमोबाइल्स, स्वास्थ्य तथा फोहरमैला व्यवस्थापन, शिक्षा र उपभोगमा आधारित कर्जा गरी लगानीका १७ क्षेत्र लगानीका लागि छुट्याएको छ ।

मागदर्शनमा विभिन्न १७ वटा क्षेत्रमा लगानी गर्नुको फाइदा वेफाइदाको विषयमा पनि चर्चा गरिएको छ । मार्गदर्शनमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन खरिद गर्नुभन्दा विद्युतीय सवारीसाधन खरिदमा लगानी गर्न निर्देशन दिइएको छ । त्यस्तै, नयाँ सिमेन्टको घर निर्माणमा लगानी गर्नुभन्दा रेट्रोफिटिङमा लगानी गर्न प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले सिमेन्टका भव्य भवन बनाउने कर्जा घटाएर वातावरणमैत्री भवनमा ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले पब्लिक सवारीसाधन पनि इन्धनबाट चल्नेभन्दा पनि विद्युतबाट चल्नेमा बढी लगानी गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले केबलकारहरूको निर्माणमा प्राथमिकता दिनुपर्ने उल्लेख छ । मार्गदर्शनमा कर्जाको लागि प्रस्ताव ग्रीन फाइनान्समा आधारित भएर गर्न राष्ट्र बैंकको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.