सडक सञ्जालकाे दुर्गतिले पर्यटकलाई हैरानी, विश्व बजारमा फैलिँदैछ ‘नकारात्मक सन्देश’

  २०८१ कार्तिक ६ गते ११:२३     ऋतु

काठमाडौं । नेपाल संसारभरिका हरेक किसिमका पर्यटकका लागि आकर्षक र लोभलाग्दो पर्यटन गन्तव्य हो भनिरहनुपर्दैन । यहाँका हिमशृङ्खला, तालतलैया, पहाड, नदीनाला, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाले पर्यटक लोभ्याउन थालेको आठ दशक हाराहारी भइसकेको छ ।

सन् १९५३ मे २९ मा एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम सफल आरोहण गरेपछि नेपाल पर्यटकका लागि विश्व बजारमा खुलेको थियो ।

त्यसयता हवाई तथा स्थलमार्ग हुँदै दशाैं लाख पर्यटकले नेपाललाई आफ्नो प्रमुख गन्तव्य बनाइसकेका छन् । यस्तो संख्या अहिले प्रत्येक वर्ष लाखौं हुने गर्छ । हवाई तथा स्थलमार्गबाट नेपाल प्रवेश गरेपछि अधिकांश पर्यटकले सडक सञ्जाल प्रयोग गर्छन् ।

विशेषगरी हवाईमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका ठूलो संख्याका पर्यटक काठमाडौंबाट नेपालका प्रमुख पर्यटन गन्तव्यहरू पोखरा, चितवन, लुम्बिनी लगायतमा पर्यटक यातायातमार्फत पुग्ने पुरानै चलन हो ।

पछिल्लोपटक नेपालका प्रमुख राजमार्गहरू पृथ्वी, बीपी, मदन भण्डारी, त्रिभुवनलगायतको अवस्थाका कारण विदेशी पर्यटकले सकेसम्म सडक मार्गबाट काठमाडौं बाहिरका पर्यटन गन्तव्य जान हिच्किचाउने गरेको सम्बद्ध व्यवसायी बताउँछन् ।

गत असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको भीषण बाढीपहिरोले प्रमुख राजमार्गमात्र नभई अन्य अधिकांश सडक अवरुद्ध हुन पुग्दा सर्वसाधारणमात्र नभई बाढीपहिरोको चपेटामा नेपाल घुम्न आएका हजारौं पर्यटक पनि परे ।

हवाई तथा स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आएका विभिन्न देशका पर्यटकले सडक यातायात बढी प्रयोग गर्ने गर्छन् । स्थलमार्गबाट नेपालका सयौं पर्यटन गन्तव्य जाँदा विदेशी पर्यटकले हरियो नम्बर प्लेटका पर्यटक सवारीसाधन प्रयोग गर्ने गर्छन् ।

गत असोज ११ र १२ गते आएको भीषण बाढीपहिरोले राजमार्गसहित देशभरिका अधिकांश सडक अवरुद्ध हुँदा अन्य सार्वजनिक यातायातसँगै पर्यटक सवारीसाधन पनि जहाँको तहीं रोकिए ।

नेपालमा पर्यटन आगमनको प्रमुख याममा आएको बाढीपहिरोबाट पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । पर्यटन क्षेत्रको एक अभिन्न हिस्सा रहँदै आएको पर्यटक सवारीसाधन बाढीपहिरोको चपेटामा पर्दा पर्यटक पनि समस्यामा पर्नु स्वाभाविक हो ।

नेपाल घुम्न आएका पर्यटकहरूलाई आरामदायी यात्रा गराउँदै सुरक्षित रूपमा सयौं गन्तव्य पुर्‍याइरहेका दजर्नौं पर्यटक सवारीसाधन कम्पनी गत असोजको बाढीपहिरोबाट अछुतो रहने कुरै भएन । धन्य, बाढीपहिरोबाट पर्यटक हताहत भएका खबर भने कतैबाट आएनन् ।

पर्यटकहरूलाई गन्तव्य पुर्‍याउँदै आएका पर्यटक सवारीसाधन एक महिना अघिको बाढीपहिरोबाट कति क्षति भए भन्ने यकिन तथ्यांक आइनसके पनि विभिन्न गन्तव्य घुमिरहेका पर्यटकले दुःख पाएको पर्यटक यातायात व्यवसायी र पर्यटन व्यवसायी दुवै बताउँछन् ।

नेपाल भ्रमणमा आएका पर्यटकलाई उनीहरूले चाहेको गन्तव्यमा सहज पुर्‍याउने उद्देश्यले दुई दशकअघि पर्यटक सवारीसाधन कम्पनी सञ्चालक व्यवसायीहरूले ‘नेपाल पर्यटक यातायात व्यवसायी संघ’ स्थापना गरेका थिए । संघमा हाल ८६ कम्पनी सदस्यका रूपमा जोडिएका छन् ।

झन्डै सय हाराहारीमा रहेका पर्यटक सवारीसाधन सेवा प्रदायकसँग ५ सयभन्दा बढीको संख्यामा हरियो नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा छन् । यस्ता सवारीसाधनलाई राजनीतिक दलका बन्द, हडतालमा पनि निर्वाध गुड्न दिने गरिएको छ । जसले गर्दा नेपाल घुम्न आएका पर्यटकले सुरक्षित महसुस गर्दै आफ्ना गन्तव्य पुग्न पाउँछन् ।

राज्य तहबाट दीर्घकालीन नीति र सोच अभावका कारण पर्यटक यातायात क्षेत्र उपेक्षामा परेको सम्बद्ध व्यवसायीको वर्षौंदेखिको गुनासो ज्यूका त्यूँ छ ।

त्यतिमात्र नभई, पर्यटक सवारीसाधन विशानका लागि नेपालमा एउटामात्र बसपार्क रहेको छ, जुन पर्यटन राजधानी पोखरामा अवस्थित छ । त्यसबाहेक अन्त कतै पनि पर्यटक बसपार्क नभएको तितो यथार्थ छ । अन्य ठाउँमा बनाउने योजना वा तयारी सरकार वा निजी क्षेत्र कसैको पनि हालसम्म देखिएको छैन ।

काठमाडौंबाट प्रमुख पर्यटन गन्तव्य जाने सडक गुणस्तरीय नहुँदा विदेशी पर्यटकले सास्ती खेप्दै आएका छन् । सडकका खाल्डाखुल्डी मात्र नभई जुनसुकै बेला पनि मर्मत र निर्माणका नाममा सडक अवरुद्ध हुँदा पर्यटकको यात्रा सोचेजति सहज हुने गरेको देखिँदैन ।

यति हुँदाहुँदै के विदेशी पर्यटक अझै पनि सडक मार्गबाट प्रमुख पर्यटन गन्तव्य जान रुचाउँछन् ? के नेपालका सडक पर्यटकमैत्री छन् ? सडकका दुरावस्थाले पर्यटक र अन्तर्राष्ट्रिय पर्यटन बजारमा कस्तो सन्देश प्रवाह भइरहेको छ ? यस्ता समस्या समाधान गर्न सरकारसँगै सम्बन्धित निकायले के गर्नुपर्ला ? पर्यटक यातायात व्यवसायी र पर्यटन व्यवसायी के भन्छन् ? यसबारे विस्तृत चर्चा गरौं ।

नेपाल पर्यटक यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपाने नेपालको बाटोघाटोले पर्यटन क्षेत्रमा निकै ठूलो नोक्सान पुर्‍याएको बताउँछन् ।

उनका अनुसार पर्यटकको मुख्य सिजन भएकाले पर्यटक सवारीसाधन केही मात्रै चलेका छन् । तर, पहिलाको सिजनमा झैं पर्यटकको आवागमन एकदमै कम भएको उनी बताउँछन् ।

‘सडकका कारण पर्यटक गाडीहरूलाई एकदमै ठूलो मर्का परेको छ,’ उनी भन्छन्, ‘सडकको अवस्था एकदमै नाजुक छ, पर्यटकहरूमा यसले पनि इरिटेसन पैदा गराएको छ ।’

विदेशमा २ घन्टामा पार हुने बाटो यहाँ १२/१३ घण्टा लाग्ने हुँदा पर्यटकहरूले एकदमै नकारात्मक प्रतिक्रिया दिने गरेको उनी बताउँछन् ।

‘पर्यटनका मुख्य गन्तव्य पोखरा, चितवन, लुम्बिनी जाने सडकको अवस्था एकदमै लथालिंग छ, कतै मर्मतको नाममा भत्काइएको छ, कतै बाढीपहिरोले सडक नै बगाएको छ,’ निर्वतमान अध्यक्ष न्यौपाने भन्छन्, ‘यी सडकहरू समयमा बन्न नसक्दा पर्यटन क्षेत्रमा धेरै ठूलो मार परेको छ ।’

न्यौपानेका अनुसार पर्यटक सवारीसाधन भनेका पूरै रिजर्भमा चल्ने हुन् । यी साधन रिजर्भमा विमानस्थलदेखि काठमाडौंका विभिन्न सम्पदा स्थलसम्म जाने र त्यसपछि चितवन, पोखरा लुम्बिनीलगायत प्रमुख पर्यटकीय गन्तव्य घुमेर फेरि विमानस्थलमै फिर्ता हुन्छन् ।

यस्ता सवारीसाधन ५ सय वटा छन् । अरू साना ठूला सबै पर्यटक गाडीहरू काठमाडौंमा मात्रै ३३/३४ वटा रहेको उनी बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश

पर्यटन व्यवसायी विश्वेश श्रेष्ठ अन्तर्राष्ट्रिय पर्यटन बजारमा सडक सञ्जालका कारण नकारात्मक सन्देश प्रवाह भएकाले नेपालको पर्यटन क्षेत्रमा असर परेको बताउँछन् ।

काठमाडौंबाट सडकमार्ग हुँदै पोखरा, चितवन र लुम्बिनी जान नसकिने हुँदा ती क्षेत्रमा पर्यटक जान हिच्किचाउने उनको भनाइ छ ।

‘सडक सञ्जालको अवस्था नाजुक भए पनि पर्यटक बसहरू अलिअलि त चलेका छन्,’ उनी भन्छन्, ‘काठमाडौं, पोखरा र बुटवल जाने पर्यटकले भन्दा पनि यसपालि लुक्ला जाने पर्यटकले नराम्रो सास्ती पाए ।’

नेपालमा धेरै संख्यामा पर्यटक सवारीसाधन सञ्चालनमा छन् । तर, ती सवारीसाधनले उचित सेवासुविधा नपाएको श्रेष्ठ बताउँछन् ।

‘नेपालका सडकमा जति पनि पर्यटक सवारी गुडेका छन्, तिनको उचित व्यवस्थापन हुन सकेको छैन,’ उनी भन्छन्, ‘ती सवारीले कुनै पनि किसिमको सुविधा, हरियो नम्बरप्लेटको फाइदा लिन पाएका छैनन्, राज्यबाट कुनै सहयोग नभएपछि जति व्यवस्थित हुनुपर्ने हो त्यति भएका छैनन् । यसको प्रभाव पर्यटकमाथि पर्नु स्वाभाविक हो ।’

उनका अनुसार पर्यटकलाई आकर्षित गर्न त्यस्ता सवारीसाधन स्ट्यान्डर्ड हुनुपर्छ । अहिलेसम्म जति पनि पर्यटक सवारी सञ्चालनमा छन् ती सबै निजी भएको राज्यले त्यसलाई व्यावसायीकरण गर्न चासो नदेखाएको उनको भनाइ छ ।

काठमाडौं उपत्यकाकै कुरा गर्दा अहिलेसम्म कुनै पर्यटकीय बसपार्क तथा बस पार्क गर्नका लागि निश्चित स्थान बनेको छैन । पर्यटकीय राजधानी पोखरामा मात्रै एउटा पर्यटक बसपार्क बनेको छ ।

‘वसन्तपुर दरबार स्क्वायर लगेर पर्यटकलाई ओराल्नुपर्‍याे भने बस पार्क गर्ने निश्चित स्थान छैन,’ उनी भन्छन्, ‘एउटा बससम्म पार्क गर्ने ठाउँ नभएपछि पर्यटकले के सोच्छन्, उनीहरूले आफ्नो देशमा के सन्देश लैजान्छन् भन्ने पनि त प्रश्न छ नि !’

बसमा यात्रा गर्ने पर्यटकले सडकमार्गमा राम्रो शौचालय नभएको गुनासो पनि गर्दै आएका छन् । भएका ठाउँमा पनि शौचालय सफा छैनन् ।

‘काठमाडौंबाट पोखरा, चितवन र लुम्बिनीसम्मको गन्तव्य जाँदा बस रोक्ने र खाने ठाउँ अनि शौचालयको निश्चित छैन,’ श्रेष्ठ भन्छन्, ‘यस विषयमा कुरा उठाउँदै आएको २५ वर्ष भइसक्यो, यस्ता कुरा अहिलेसम्म पनि नबन्नु भनेको लाजकै विषय हो, यस्ता विषयमा राज्यको ध्यानै गएको छैन ।’

सडक सञ्जालसँगै नेपाली एयरलाइन्सको अवस्था पनि राम्रो नभएको उनी बताउँछन् । ‘अहिले नेपाल एयरलाइन्सको पनि जापानबाट फ्लाइट क्यान्सिल र डिले भइरहेको छ,’ उनी भन्छन्, ‘अझै यही २३ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि दैनिक १० घण्टा बन्द हुँदैछ, पर्यटकीय सिजनमै फ्लाइट टाइम गडबड भएकाले चेन्ज नै गर्नुपर्ने भएको छ, यसले पनि नकारात्मक असर नै गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.