सुनको बजार पुँजी चीनको जीडीपी बराबर, ५ वर्षमा मूल्य दोब्बर

  २०८१ कार्तिक ६ गते १६:३८     विकासन्युज

काठमाडौं । सुनको भाउले हरेक दिन नयाँनयाँ रेकर्ड बनाइरहेको छ । सोमबार यसको अन्तर्राष्ट्रिय मूल्य पहिलो पटक प्रति औंस २ हजार ७५० अमेरिकी डलर नाघेको छ ।

योसँगै सुनको बजार पुँजी १८.४ ट्रिलियन डलर पुगेको छ, जुन चीनको अर्थतन्त्र बराबर हो । अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो ।

पछिल्लाे पाँच वर्षमा सुनको बजार मूल्य दोब्बर भएको छ । यो वर्ष सुनको भाउ ३३ प्रतिशतले बढेको छ । अमेरिकाको बजार पुँजी ५७ ट्रिलियन डलर छ भने बिटक्वाइनको बजार पुँजी १.४ ट्रिलियन डलर छ ।

पश्चिम एसियामा जारी द्वन्द्व र आउँदै गरेको अमेरिकी राष्ट्रपति चुनावमा चलेको कडा प्रतिस्पर्धाबीच सुनको भाउ बढेको हो । अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । कसले जित्ला भनी यकीन गर्न कठिन छ । जब कुनै अनिश्चितता आउँछ तब सुनको भाउ बढ्छ । यसको कारण यो हो कि यसलाई लगानीको सबैभन्दा सुरक्षित माध्यम मानिन्छ । यसपटक पनि लगानीकर्ता सुरक्षित लगानीतर्फ आकर्षित भएका हुन् ।

नेपालमा सुनकाे भाउ

यसबीच नेपाली बजारमा सुनले मंगलबार नयाँ रेकर्ड राखेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भइहेको छ । जुन हालसम्मकै उच्च हो ।

साथै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर तोलाको २ हजार १०० रुपैयाँ पुगेको छ । (एजेन्सीको सहयाेगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.