भिस्तारा एयरवेजको जहाजमा खोजतलास जारी, नियमित रूपमा उडान सञ्चालन

  २०८१ कार्तिक ६ गते १९:१६     विकासन्युज

फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाे भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा खोजतलास जारी छ ।

भिस्तारा एयरवेजको जहाज भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण भएकाे थियाे । जहाजमा बम रहेको भन्ने जानकारी दिल्लीबाटै आएसँगै खाेजतलास सुरु गरिएकाे हाे ।

१५७ जना यात्रु बोकेर जहाज आज अपरान्ह साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हाे । चेकजाँचपश्चात यात्रुहरूले आफ्नो ब्यागेज जिम्मा लिएका छन् ।

अहिले नेपाली सेनासहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

उनका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निष्क्रिय गर्ने विशेष टोलीले खानतलासी गरिरहेको छ ।

यात्रुललाई सुरक्षित गरेर खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उनले बताए ।

भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला भएपछि भिस्ताराको विमानको खानतलासी भइरहेको र अहिलेसम्म कुनैपनि शङ्कास्पद वस्तु फेला नपरेको जानकारी दिए ।

उनले काठमाडौं विमानस्थलको उडान नियमित रूपमै सञ्चालन भइरहेको पनि जानकारी दिए ।

अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमअनुसार कम्तीमा ६ घण्टासम्म खाेजतलास गर्नुपर्छ ।

भारतीय जहाजमा पछिल्लाे समय बम राखिएकाे हल्लाले आतंक मच्चाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.