‘जहाजमा बम छ’ भन्ने हल्लाले अर्बौं घाटा, डरैडरले उडान भर्दै कम्पनी

  २०८१ कार्तिक ७ गते १२:०२     विकासन्युज

काठमाडौं । गत साादेखि भारतका लगभग हरेक एयरलाइन्सले प्रत्येक दिन धम्कीपूर्ण कल र मेसेजहरू प्राप्त गरिरहेका छन् । विमानलाई बमले उडाउने कल एयरलाइन्सहरूले पाइरहेका छन् ।

यसले सम्पूर्ण प्रणालीलाई उथलपुथल पारिरहेकाे छ । यसले गर्दा यात्रुलाई मात्रै होइन एयरलाइन्सले पनि ठूलो घाटा बेहोर्नुपरेको छ । केही दिनअघि मात्रै अमेरिका जाने विमानले ३ करोड घाटा बेहोर्नुपर्‍याे ।

यस्ता धम्कीपूर्ण कल र मेसेजले अहिले जनतामा डरको वातावरण सिर्जना गरेको छ । यही ‘थ्रेट गेम’का कारण यो वर्ष हालसम्म ५ सयभन्दा बढी उडान जोखिममा परेका छन् । यसले झण्डै दुई हजार उडान र साढे तीन लाख यात्रु प्रभावित भएका छन् । यसबाहेक वायुसेवा कम्पनीलाई झण्डै १५ अर्ब भारु घाटा भएकाे विभिन्न रिपाेर्टले उल्लेख गरेाका छन् ।

मंगलबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाे भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा खोजतलास भएकाे थियाे । भिस्तारा एयरवेजको जहाज भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण भएकाे थियाे ।

जहाजमा बम रहेको भन्ने जानकारी दिल्लीबाटै आएसँगै खाेजतलास सुरु गरिएकाे थियाे । १५७ जना यात्रु बोकेर जहाज आज अपरान्ह साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियाे ।

धम्कीले पूरै तालिका गडबड

एयरलाइन्सका अधिकारीहरूका अनुसार कुनै पनि उडानको खतराले उक्त एयरलाइन्सको २४ घण्टा एयर तालिका प्रणालीमा ‘चेन रियाक्सन’ निम्त्याउँछ ।

किनभने एउटा विमानमा खतरा आए पनि एउटा विमानले २४ घण्टामा कम्तीमा चारदेखि छवटा छोटो दूरीको उडान गर्छ । यस्तो अवस्थामा एउटा उडानलाई खतरामा परेमा त्यस विमानको पछिल्ला सबै उडानहरू ढिलो, रद्द वा पुन: तालिकामा असर गर्छ ।

१५ अर्ब भारुको घाटा

प्रत्येक उडानमा औसत १८० यात्रु हुन्छन् । यस्तो अवस्थामा यो वर्ष अहिलेसम्म करिब ५ सय उडान जोखिममा परेका छन्, जसको अर्थ कम्तीमा दुई हजार उडान र ती उडानमा उडान गर्ने साढे तीन लाखभन्दा बढी यात्रु प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रति उडान ३ करोड रुपैयाँको ‘चेन रियाक्सन’ घाटालाई हेर्दा हालसम्म देशका विभिन्न एयरलाइन्सले करिब १५ सय करोड अर्थात १५ अर्ब भारु घाटा बेहोर्नु परेको छ ।

३ करोड जरिवाना 

अक्टोबर १४ मा एयर इन्डियाको विमान मुम्बई एयरपोर्टबाट न्यूयोर्कको जाेन एफ केनेडी (जेएफके) एयरपोर्टको लागि उडेको थियो । जसमा करिब २०० यात्रु र चालक दलका सदस्यहरू थिए । यो विमान करिब १३० टन जेट इन्धनले भरिएको थियो । टेकअफलगत्तै बम रहेको खबर आयो । दुई घण्टापछि विमान दिल्ली एयरपोर्टमा अवतरण गर्नुपर्‍यो ।

इन्धन, यात्रु, सामानलगायतका यो विमानको तौल ३४० देखि ३५० टनसम्म रहेकाे जनाइएकाे छ । एयर इन्डियाको यो विमानले अधिकतम २५० टन वजनमात्रै अवतरण गर्न सक्छ । यस्तो अवस्थामा विमानमा रहेको करिब १०० टन इन्धन हावामा उडाइएकाे थियाे । यसपछि विमानलाई दिल्लीमा अवतरण गरियाे ।

एक सिनियर पाइलटका अनुसार एक टन इन्धनको लागत करिब १ लाख रुपैयाँ पर्छ । उक्त विमानबाट एक सय टन इन्धन उडाइएकाे थियाे । यस्तो अवस्थामा इन्धनका कारण मात्रै एयरलाइन्सले १ करोड रुपैयाँ घाटा बेहोरेको छ ।

यसबाहेक दिल्लीमा ल्यान्डिङ गरेपछि ल्यान्डिङ चार्ज, २०० भन्दा बढी यात्रु र चालक दलका सदस्यलाई होटलमा बस्ने खर्च आदि पनि समावेश छन् । यस्तो अवस्थामा बमको झुटो समाचारका कारण एयरलाइन्सलाई करिब ३ करोड रुपैयाँ नोक्सान भएको केही वरिष्ठ अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.