कुनै समय मुस्किलले ५ हजार भारुको जुगाड गर्ने सुनिल यसरी बने टेलिकम बादशाह

  २०८१ कार्तिक ७ गते १५:१७     विकासन्युज

काठमाडौं । के तपाईं सुनिल भारती मित्तललाई चिन्नुहुन्छ ? एयरटेलको नाम त पक्कै सुन्नुभएकाे छ हाेला । एयरटेल उनकै कम्पनी हाे । ६६ वर्षीय सुनिल भारतीका बुवा नेता थिए र दुई पटक सांसदसमेत भइसकेका थिए । तर सुनिलले पढाइ सकेपछि बुवाकाे बिँडाे थामेनन्, उनले  राजनीति नभई व्यापारको दुनियाँमा प्रवेश गरे ।

भारतकाे प्रतिष्ठितमध्येकाे एक मानिने पद्मभूषण पदबाट सुनिल सम्मानित भइसकेका छन् । सुनिल मित्तल ‘भारती इन्टरप्राइजेज’का संस्थापक र अध्यक्ष हुन् । यस कम्पनीकाे व्यापार संसारका धेरै देशमा फैलिएको छ । उनी अर्बौं रुपैयाँको सम्पत्तिका मालिक हुन् ।

ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार सुनिल मित्तलको कुल सम्पत्ति २६.२ बिलियन डलर (लगभग २.२० लाख करोड भारु) छ । उनी विश्वको ७१ औं धनी र देशको आठौं धनी व्यक्ति हुन् । यो वर्ष उनको सम्पत्ति १०.३ अर्ब डलरले बढेको छ ।

व्यावसायिक संसारमा प्रवेश

सुनिल मित्तलको जन्म २३ अक्टोबर १९५७ मा पञ्जाबको लुधियानामा भएको थियो । उनका पिता सतपाल मित्तल पञ्जाबका प्रसिद्ध नेता थिए । उनी दुई पटक राज्यसभा सांसद पनि भएका थिए । पढाइ सकेपछि सुनिल मित्तलले बुवाकाे पेशा नराेजी व्यापार गर्ने इच्छा व्यक्त गरे ।

१८ वर्षको हुँदा सुनिलले बुबाबाट २० हजार भारु ऋण लिएर साइकलका पार्टपुर्जा बनाउने व्यवसायमा लागे । सुरुमा उनले ब्रजमोहन मुन्जालको हिरो साइकल कम्पनीका लागि पार्टपुर्जा बनाउने गर्थे । ठूला परिवारका भए पनि सुनिलले व्यवसायमा धेरै समस्या झेल्नुपरेको थियो ।

निकै मुस्किलले ५ हजार भारुको व्यवस्था

एक अन्तर्वार्ताका क्रममा सुनिल मित्तलले व्यवसायको सुरुवाती दिनमा ५ हजार रुपैयाँकाे व्यवस्था गर्न निकै कठिनाइको सामना गर्नुपरेको बताएका थिए । त्याे अवस्थामा उनलाई ब्रजमोहन मुञ्जालले सहयोग गरेका थिए । मुञ्जालले सुनिललाई ५ हजार रुपैयाँको चेक दिएका थिए ।

टेलिकम व्यवसायमा प्रवेश

साइकलको पार्टपुर्जाको व्यवसाय गरिरहँदा सुनिलले यो व्यवसायलाई ठूलो बनाउन नसकिने बुझेका थिए । उनी व्यापारिक संसारमा केही ठूलो गर्न चाहन्थे । त्यसैले उनले साइकलको व्यवसाय बेची मुम्बई गए । उनले त्यहाँ धेरै किसिमका व्यवसाय अँगाले तर नाफा कमाउन भने सकेनन् ।

एक पटक सुनिल ताइवान गए । त्यहाँ उनले ‘पुश बटन मोबाइल’ देखे । उनले त्यसलाई भारतमा आयात गर्ने निर्णय गरे । यसपछि उनले बीटल नामक टेलिफोन र फ्याक्स मेसिनकाे सुरुवात गरे ।

सन् १९९२ मा भारत सरकारले पहिलो पटक मोबाइल सेवाको लाइसेन्स वितरण गरेको थियो । सुनिलले यो सुवर्ण अवसरलाई हातबाट खेर जान दिन चाहेनन् । उनले सेलुलर सर्कलको लाइसेन्स पनि लिए । यसपछि सन् १९९५ मा उनले भारती सेलुलर लिमिटेड (बीसीएल) को स्थापना गरे । उनले यस कम्पनीअन्तर्गत एयरटेल ब्रान्ड सुरु गरे । यसपछि एयरटेल भारतभर लोकप्रिय भयो ।

विश्वका शीर्ष कम्पनीमा एयरटेल पनि

आज एयरटेल भारतकाे मात्र नभई विश्वको शीर्ष टेलिकम कम्पनीहरूमा परेको छ । एयरटेलको व्यवसाय १५ भन्दा बढी देशहरूमा फैलिएको छ । कुनै समय यस कम्पनीकाे भारतमा वर्चस्व थियो । जब कुनै नयाँ टेलिकम कम्पनी आउँथ्यो, उसले एयरटेलको सामना गर्नुपर्थ्यो । तर, आज स्थिति अलिक बदलिएको छ । एयरटेलले मुकेश अम्बानीको कम्पनी जियोसँग कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । एजेन्सीको सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.