वर्तमान सरकारले गर्ने भनेका ७० % काम सम्पन्न भइसकेका छन् : प्रधानमन्त्री ओली

  २०८१ कार्तिक ७ गते १५:४१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताएका छन् । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनले उल्लेख गरे ।

आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि सरकारले पूरा गर्थ्याे ।’

उनले थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

‘पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालयअन्तर्गत के–के काम थालेका छौं र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोक्यौं,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैको आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता गर्‍याैं, पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको सङ्ख्या दुई सय ७४ वटा पुग्यो । तीमध्ये एक सय ८५ वटा काम सम्पन्न भएका छन् ।’

उनले दूध र उखु किसानको लामो समयदेखि रोकिएको भुक्तानी पाएकाे बताए।

‘लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका छन् । उनीहरूले पाउने रकम भुक्तानीका लागि सरकारले रु ६० करोड निकासा गरेको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन् ।’

कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौं कृषकले पनि अब राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा तिनीहरूको बीमा बापतको भुक्तानी गर्न रु ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.