विज्ञहरू भन्छन्- उदीयमान अर्थतन्त्रका लागि ब्रिक्स महत्त्वपूर्ण संयन्त्र हो

  २०८१ कार्तिक ९ गते १०:५९     विकासन्युज

काठमाडौं । रुसको कजानमा सुरु भएको १६ औं ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ । गत मंगलबारदेखि बिहीबारसम्म चलेको सम्मेलन सम्पन्न भएको हो ।

ब्रिक्स संयन्त्र उदीयमान अर्थतन्त्रहरू एकजुट रहन र विश्वव्यापी व्यापारमा सजिलो पहुँच प्राप्त गर्नको लागि महत्त्वपूर्ण प्लेटफर्म भएको केही जाम्बियाका विज्ञहरूले बताए ।

अन्वेषक र जाम्बियाको अन्तर्राष्ट्रिय सम्बन्ध संघका वरिष्ठ सदस्य मवाका चिकोयेले ब्रिक्स साझा चासो भएका देशहरूका लागि विशेष गरी बढ्दो व्यापार संरक्षणवादको बीचमा मूल्यवान रहेको बताए ।

उनले ग्लोबल साउथको बढ्दो प्रभावले विश्वव्यापीकरणको एजेण्डामा महत्त्वपूर्ण भूमिका खेलेको र विश्व बजारमा प्रमुख खेलाडीको रूपमा आफ्नो क्षमतालाई हाइलाइट गर्ने बताए ।

चिकोयेका अनुसार ब्रिक्सले निष्पक्षतालाई बढावा दिन्छ । सबै राष्ट्रहरूले आकार वा आर्थिक स्थितिलाई ध्यान नदिई विश्वव्यापीकरणमा अर्थपूर्ण रूपमा योगदान गर्न सक्छन् भन्ने धारणालाई बढावा दिन्छ ।