२० वर्ष विदेशमा मजदुर गरेका भुसाल भन्छन् : देशमा आनन्दले परिवारसँग काम गर्न पाइन्छ

  २०८१ कार्तिक ९ गते १२:०२     विकासन्युज

रामपुर । रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गरेका छन् । दुई दशक विदेशमा मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेका छन् ।

‘लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ फर्केलगत्तै जग्गा भाडामा लिएर सागसब्जीखेती सुरु गरेको छु, अहिले सागसब्जी, रोप्ने र रेखदेखमै व्यस्त छु’, उनले भने । उनले तीन वर्षका लागि वार्षिक ४० हजार रुपैयाँमा जग्गा भाडामा लिएका हुन् । बेमौसमी सागसब्जी उत्पादनलाई जोड र्दिएका उनले काउली, ब्रोकाउली, बन्दा, धनियाँ, मुलालगायत सागसब्जी रोपेका छन् ।

व्यवसाय सुरु गरेको पहिलो वर्षमा नै प्रशस्त आम्दानी भएपछि भुसाललाई सागसब्जीखेतीमा उत्साह थपिएको छ । एक वर्षमा उनले चार लाख रुपैयाँ आम्दानी गरेको बताए । वार्षिक रूपमा सात लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको लक्ष्य छ । ‘अर्काको देशमा धेरै दुःख छ, विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ, दिनमा कम्तीमा पनि १२ देखि १५ घण्टाको काम गर्नुपर्छ, तैपनि कामअनुसारको पारिश्रमिक पाइँदैन, आफ्नो देशमा आनन्दले परिवारका साथमा काम गर्न पाइन्छ, यसमै आनन्द छ’, विदेशमा आफूले भोगेको अनुभव उनी सुनाउँछन् ।

उद्यमी भुसाललाई आफ्ना उत्पादन बिक्रीको कुनै चिन्ता छैन । उनले उत्पादन गरेका सागसब्जी रामपुर बजारमा बिक्री हुने गरेको छ । व्यापारीले घरमा नै आएर खरिद पनि गर्ने गरेका छन् । उहाँ सागसब्जी मात्र नभई फलफूलका बिरुवा उत्पादन गरेर बिक्री पनि गर्छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.