बजारमा सिटामोल अभाव भएको विषय हल्लामात्र हो: औषधि लिमिटेड

  २०८१ कार्तिक ९ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको जनाएको छ ।

लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए ।

उनले भने, ‘हामीले नियमित उत्पादन गरिरहेका छौं । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।’

उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ ।

‘डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौं । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छाैं । खरिद-बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ,’ प्रबन्ध निर्देशक पनेरुले भने ।

सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानकर्षण गराएको थियो ।

खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ ।

लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गीको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौं, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ ।

उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.