२०८१ कार्तिक १० गते १९:१९ विकासन्युज
वासिङ्टन/ एएफपी । संसारका सबैभन्दा धनी राष्ट्रको समूह जीसेभनका नेताहरूले रोक्का राखिएको रूसी सम्पत्तिबाट भएको नाफाबाट कियभलाई सहयोग स्वरुप ५० अर्ब डलर दिने अन्तिम निर्णय गरेको एक विज्ञप्तीमार्फत शुक्रबार घोषणा गरेका छन् ।
सात धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण सुरु गर्ने लक्ष्यका साथ लगभग ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको बताएका छन् ।
“युक्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै च्यानलमार्फत ऋण वितरण गरिनेछ”, जीसेभनका नेताहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको यो घोषणा आएको हो ।
“युक्रेनलाई आवश्यक पर्ने समर्थन दिने हाम्रो संकल्पबाट हामी पछि हट्ने छैनौँ”, समूहले प्रतिबद्धता जनाएको छ ।
उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.