यी १३ बैंक वित्तीय संस्थाको लाभांश घोषणा, आर्थिक मन्दीको प्रभाव प्रतिफलमा

  २०८१ कार्तिक ११ गते ११:०९     विकासन्युज

काठमाडौं । थोरै भए पनि बैंक तथा वित्तीय संस्थाहरूले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । विगतका वर्षहरूमा उच्च लाभांश वितरण गर्दै आएका बैंक तथा वित्तीय संस्था पछिल्लो समय भने न्यून लाभांश भए पनि घोषणा गर्दै आएका छन् । पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीको असर बैंक तथा वित्तीय संस्थाको व्यवसायमा परेर लाभांशमा त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।

हालसम्म घोषणा गर्ने संस्थाको उच्च लाभांश नै १५ प्रतिशत छ । अहिलेसम्म पाँचवटा वाणिज्य बैंक, एउटा विकास बैंक र सातवटा लघुवित्त संस्थाले लाभांश घोषणा गरेका छन् ।

हालसम्म वाणिज्य बैंकमा एभरेष्ट बैंक, सिटिजन्स, ग्लोबल आइएमई, सानिमा र प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेका छन् । विकास बैंकमा कामना सेवाले पनि लाभांश घोषणा गरेर पनि वितरण गरिसकेको छ ।

एभरेष्ट बैंकले पनि लाभांश घोषणा गरेर पारित पनि गरिसकेको छ । बैंकको असोज २० गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो । बैंकको साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिएको हो ।

यस्तै, सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् । बैंकले कात्तिक १२ गते साधारणसभा बोलाएको छ ।

सानिमा बैंकले आव २०८०/०८१ को सञ्चित नाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गरेको छ । बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत नगत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८औं वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए ।

प्राइम कमर्सियल बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले आव २०८०/८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने जानकारी बैंकको छ ।

यसैगरी, कामना सेवा विकास बैंकले पनि लाभांश घोषणा गरेर पनि वितरण गरिसकेको छ । बैंकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गरेको हो ।

यस्तै, सातवटा लघुवित्तले पनि लाभांश घोषणा गरेका छन् । आशा लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश घोषणा गरेको छ ।

गुराँस लघुवित्तले पनि १५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

फरवार्ड माइक्रो फाइनान्सले पनि सेयरधनीका लागि लाभांश घोषणा गरिसकेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

यस्तै, आरएसडीसी लघुवित्तले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत, सपोर्ट लघुवित्तले १३.७७५ प्रतिशत बोनस र ०.७२५ प्रतिशत नगद गरी कुल १४.५ प्रतिशत र नेशनल लघुवित्तले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.