सुन थुपारेको थुपार्यै, यस कारण बढ्दैछ मूल्य

  २०८१ कार्तिक ११ गते १४:११     विकासन्युज

काठमाडौं । सुनको मूल्यले हरेक दिन नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ । सन् २०२४ लागेसँगै हालसम्म ३५ पटक सुनको भाउ अहिलेसम्मकै उच्च स्थानमा पुगेकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । सुनको मूल्यवृद्धि रोकिने संकेतसमेत देखिएकाे छैन । अझै बढ्नसक्ने विश्लेषकहरूकाे आँकलन छ ।

यो वर्ष सुनको भाउ ३३ प्रतिशतले बढेको छ । आखिर किन सुनको भाउ यति धेरै बढिरहेकाे छ ? सबैभन्दा ठूलो कारण- धेरै देशका केन्द्रीय बैंकहरूले ठूलो परिमाणमा सुन खरिद गरिरहेका छन् । जसमध्ये चीन, टर्किए, पोल्याण्ड र भारतका केन्द्रीय बैंक अगाडि छन् ।

विश्वको कुल सुनको भण्डारको १२.१ प्रतिशत केन्द्रीय बैंकसँग छ । यो सन् १९९० पछिकै उच्च स्तर हो ।

यो वर्ष केन्द्रीय बैंकको सुनको सञ्चितिमा ठूलो वृद्धि भएको छ र यो पछिल्लाे एक दशककाे दोब्बर हाे । भारत, चीन, टर्किए र पोल्याण्डका केन्द्रीय बैंकहरूले सुन खरिदमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

चीनको विदेशी मुद्रा सञ्चितिमा सुनको अंश ५.४ प्रतिशत पुगेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको यो देशको सुनको भण्डार २ हजार २६४ टन रहेकाे छ । विश्वमा सबैभन्दा बढी सुनको खपत चीनमा हुने गरेको छ । तर, विश्वका पाँच देशसँग चीनकाे भन्दा धेरै मात्रामा सुनको भण्डार छ ।

केन्द्रीय बैंकले किन किनिरहेका छन् सुन ?

सन् २०२२ र २०२३ मा विश्वभरका केन्द्रीय बैंकहरूले १ हजार टनभन्दा बढी सुन खरिद गरेका थिए । यसकारण युक्रेन युद्धपछि पश्चिमी देशहरूले रुसको एसेट्स जफत गरेका थिए ।

यही कारणले गर्दा अहिले विश्वभरका देशहरूले आफ्नो विदेशी मुद्रा सञ्चितिमा अमेरिकी डलरको अंश घटाएर सुन बढाउन थालेका हुन् ।

मध्यपूर्वमा जारी तनावले पनि सुनको भाउ बढाएको हाे । इतिहास साक्षी छ कि जब विश्वमा कुनै संकट आउँछ तब सुनको भाउ बढ्छ ।

सबैभन्दा धेरै सुन कसको ?

अमेरिकामा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार छ । यो देशको सरकारी कोषमा ८ हजार १३३ टन सुन जम्मा छ । त्यसपछि जर्मनी (३ हजार ३५३ टन), इटाली (२ हजार ४५२ टन), फ्रान्स (२ हजार ४३७ टन) र रसिया (२ हजार ३३५ टन) रहेको छ ।

युरोपको सानो देश स्विट्जरल्याण्डमा १ हजार ४० टन, जापानमा ८४७ टन र भारतमा ८४० टन सुन छ । विश्व गोल्ड काउन्सिलका अनुसार भारतमा आम मानिससँग करिब २५ हजार टन सुन छ, जुन विश्वमा सबैभन्दा बढी हो ।

नेपाली बजारमा सुनकाे मूल्य

आइतबार छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि कात्तिक ७ गते सुनकाे मूल्य एक लाख ६६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे । उक्त रेकर्ड आज ताेडिएकाे हाे ।

यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो । (एजेन्सीकाे सहयाेगमा )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.