२०८१ कार्तिक ११ गते १३:५९ विकासन्युज
जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
आइतबार बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो आरोप लगाएका हुन् । उनले भने, ‘म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय, धनुषाको मातहत चुरोट कारखानालाई ल्याइएको छ ।’
सरकारले पुनः जनकपुर चुरोट कारखानालाई निजीकरण गरिरहेको कुरा आफूले दुई/तीन दिनदेखि सुन्दै आएको जानकारी दिँदै उनले भने, ‘यो आपत्तिजनक कार्य मात्र होइन, यो संघीय विरोधी कदम पनि हो ।’
संघीय उद्योगमन्त्रीसँग आफूले यसबारे छलफल गरेको चर्चा गर्दै नेता निधिले उद्योगमन्त्रीले आफूलाई कारखाना निजीकरण होइन, लाइसेन्स नवीकरण गर्नमात्र लागिएको बताएका छन् ।
जनकपुर चुरोट कारखानालाई आफू गृहमन्त्री भएकै बेला निर्णय गराएर मधेस प्रदेशको मातहत ल्याइसकेको बताउँदै नेता निधिले यदि सरकारले यस्तो निर्णय गरेमा विरोध गर्ने चेतावनीसमेत दिए । उनले मधेस प्रदेश भवन नै नरहने गरी षड्यन्त्रको गन्ध आफूले पाएकाले यसका लागि सबै सतर्क रहन आग्रहसमेत गरे ।
‘जनकपुर चुरोट कारखानाको जति पनि सम्पत्ति छ, त्यो मधेस प्रदेश सरकारको हो । यसमा कुनै दुई मत नरहेकाले निजीकरण अथवा कुनै प्रकारको षडयन्त्र भए यसलाई संघीयता विरोधी कदम भन्दै हामी आन्दोलनमा उत्रिनेछौं,’ उनले प्रष्ट पारे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.