वैदेशिक रोजगार बीमा: पुलमा गएपछि सुस्ताए नेपाल र आइएमई, आक्रामक बन्दै सन र एशियन

  २०८१ कार्तिक १३ गते १५:२८     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगारी म्यादी जीवन बीमामा पुल प्रणाली लागू गरेपछि केही कम्पनीको व्यवसाय सुस्ताएको छ भने केही कम्पनी झन आक्रामक बन्दै गएका छन् । नेपाल बीमा प्राधिकरणले गत साउन एक गतेदेखि लागू हुनेगरी वैदेशिक रोजगारी म्यादी जीवन बीमामा पुल प्रणाली लगेको छ ।

पुल प्रणाली लागु भएपछि नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफको व्यपार घटेको छ । यसैगरी, एशियन लाइफ इन्स्योरेन्स, सन नेपाल इन्स्योरेन्स व्यापारमा उच्च वृद्धि भएको छ ।

नेशनल लाइफको व्यापारमा सामान्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्यांकलाई गत आवको सोही अवधिको तथ्यांकसँग तुलना गर्दा यस्तो देखिएको हो ।

चालु आवको पहिलो त्रैमाससम्मको तथ्यांकलाई हेर्ने हो भने व्यवसाय वृद्धिमा एशियन लाइफ अगाडि छ । एसियन लाइफले गत आवको सोही अवधिको तुलनामा १६६.९६ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । एशियल लाइफले चालु आवको पहिलो त्रैमासमा वैदेशिक रोजगारी म्यादी जीवन बीमातर्फ ११ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी, सन नेपालले १०४ प्रतिशतले व्यापार वृद्धि गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले गत आवको सोही अवधिमा १६ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

यता आईएमई लाइफ इन्स्योरेन्सको व्यापार ८५ प्रतिशतले खस्किएको छ । कम्पनीले वैदेशिक रोजगार बीमा पोर्टफोलियोअन्तर्गत चालु आवको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, नेपाल लाइफको व्यापार ५४ प्रतिशतले घटेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको सोही कम्पनीले गत आवमा १४ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी, सिटिजन लाइफको व्यापार ४३ प्रतिशतले, रिलायबल लाइफको ४० र सूर्यज्योति लाइफको व्यपार २८ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षदेखि लघु बीमा कम्पनीहरूले पनि वैदेशिक रोजगारी म्यादी जीवन बीमा पोलिसी बिक्री गर्न थालेका छन् । पहिलो त्रैमासमा गार्डियन माइक्रो लाइफले ५६ हजार, क्रेष्ट माइक्रो लाइफले ९६ हजार र लिबर्टी माइक्रो लाइफले ३ लाख ६० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.