२०८१ कार्तिक १४ गते ११:१५ विकासन्युज
काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परी प्रभावित भएका बागमती नदी, बल्खु क्षेत्र आसपासका ५ सयजना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरूप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरिएकाे हो ।
गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो । यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरूले आफ्ना शैक्षिक सामाग्रीहरू गुमाएका थिए ।
सीएसआरअन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ । यसैअनुरूप एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरुलाई राहत वितरण गरेको हाे ।
फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ । यसैगरी, पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् ।
बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्डेसनले हालै मात्र राहत वितरण गरेको छ ।
यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो । यसरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढी घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको छ ।
फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीहरूसहित प्रभावित वडामा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री वितरण गरेको हो ।
एनसेलले सीएसआर परियोजनाहरू सञ्चालन गर्न आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा गत महिना एनसेल फाउन्डेसनको घोषणा गरेको थियाे ।
कम्पनीले सीएसआर अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्यलगायतका क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ ।
कम्पनीले देशभर विभिन्न सामाजिक कार्यहरुमा रु २ अर्ब भन्दा बढि योगदान गरेर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा १ करोड ३० लाख भन्दाबढिलाई लाभ प्रदान गरिसकेको दावी गरेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.