२०८१ कार्तिक १४ गते १५:०३ विकासन्युज
काठमाडौं । तिहारमा फूलमाला र पालासँगै कुचाको माग पनि अत्याधिक हुने गर्दछ । नेपालका मुख्य सहरमा कुचोको माग यतिबेला धेरै नै हुन्छ । कुचो व्यवसायीहरूलाई आपूर्ति धान्न गाह्रो हुन्छ । तिहार नेपालीहरूको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, माटोको पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ । अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरू बताउँछन् ।
कुचोमा पनि झाडु र अम्रिसाेको कुचो हुन्छ । अम्रिसाेकाे कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताउँछन् । यतिसम्मकि भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ ।
काठमाडौंमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आएका अध्यक्ष कार्कीले कुचोको व्यापार सुरु गरेकाे २०४९ सालदेखि नै हो । इलामकाे पुर्ख्याैली घरमा २०३० सालमा आफू जन्मिँदा पनि आफ्ना पिताले कुचाको व्यापार गरेकाे सम्झना उनलाई छ । त्यसैले उनले पनि पुर्ख्याैली पेशा २०४९ सालदेखि गर्दै आए । काठमाडौंमा आएर व्यापार सुरु गरेको भने उनले १४ वर्ष करिब पुग्यो ।
अध्यक्ष कार्कीले तिहारको समयमा काठमाडौं उपत्यकामा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुने गरेको बताए ।
उनले अम्रिसाेको कुचाको निर्यात विशेष गरी भारतमा बढी हुने बताए । यस वर्षमात्रै भारतमा १ अर्ब बराबरको कुचो निर्यात गरिसकेको उनको भनाइ छ ।
त्यसै बराबरको आन्तरिक खपत नेपालका विभिन्न सहरमा हुने गरेको कार्कीले जानकारी दिए । तिहारको बेलामा अन्य समयको तुलनामा चार गुणासम्म बढी कुचो व्यापार हुने उनकाे अनुभव छ ।
कार्कीकाअनुसार दशैं र तिहार चाडपर्व परेका दुई महिना (असोज र कार्तिक) मा अन्य १० महिनाको बराबरको व्यापार हुन्छ । गत साल तिहारमा मात्रै करिव २० करोडको हाराहारीमा कुचो विक्री भएको उनको संघको अनुमान छ ।
तर यस पटक भने अम्रिसाेकाे कुचोको मूल्य केही घटेकाले माग बढेपनि रकमका हिसाबले भने विगतका वर्षहरूकै हाराहारीमा बिक्री हुने अध्यक्ष कार्कीले बताए ।
काठमाडौंमा काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरूबाट कुचो आउने गरेको उनले बताए ।
उनले व्यवसायीहरूले पनि विपद्का कारण आवतजावतमा समस्या पर्ने भएकाले मागको आपूर्ति समयमा हुन नसक्दा कालोबजारी हुनसक्ने कुरालाई मध्यनजर गरी समयमै माग पूरा गर्न र तोकिएको मूल्य भन्दा बढीमा बिक्री नगर्न आग्रहसमेत गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.