आज सेयरधनी बने सानिमा बैंक र आशा लघुवित्तको लाभांश पाइने

  २०८१ कार्तिक २१ गते ७:०७     विकासन्युज

काठमाडौं । सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज कात्तिक २१ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सानिमा र आशाले कात्तिक २५ गते बुकक्लोज गर्दैछन् ।

कात्तिक २२ गते बिहीबार छठको बिदा र शुक्रबार र शनिबार सेयर कारोबार बन्द रहने भएकाले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँको करसहित ५.२६३२ प्रतिशत नगत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले २०औँ वार्षिक साधारण सभा मंसिर ४ गते बोलाएको छ ।

बैंकको सभाले नेपाल राष्ट्र बैकको निर्देशनको अधिनमा रही तोकिएको अन्य व्यवस्था तथा शर्तहरू सहित १ सय रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, बैकको अधिकृत पुँजी १५ अर्ब रुपैयाँलाई वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर जारीपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिको बैठक भत्ता लगायतका सुविधाहरू बढाउने प्रस्ताव गरेको छ ।

त्यस्तै, आशा लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख २० हजार रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न लघुवित्तले मंसिर ७ गते बनेपा काभ्रेमा आठौँ वार्षिक साधारण सभा दिउँसो ३ बजे डाकेको छ । यस्तै, लघुवित्तको सभाले अन्य लघुवित्त संस्थाहरू गाभ्ने गाभिने तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.