२०८१ कार्तिक २१ गते १८:३० विकासन्युज
काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गरेका हुन् । विजयपछि ट्रम्पले फ्लोरिडाको पाम बीचमा आफ्नो विजयी भाषण दिएका थिए । सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी व्यापारी तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको निकै तारिफ गरे ।
आफ्नो सम्बोधनका क्रममा ट्रम्पले मस्कलाई नयाँ स्टार भनेका थिए । उनले भनेका छन्, ‘उनी (एलन) सुपर जिनियस हुन् । हामीले हाम्रा प्रतिभाशाली मानिसहरूलाई जोगाउनु पर्छ । हामीसँग त्यस्ता व्यक्तिहरू थोरै छन् ।’
आफ्नो सम्बोधनका क्रममा पूर्वराष्ट्रपति ट्रम्पले मस्कको कम्पनी स्पेसएक्सले अमेरिकाको अन्तरिक्ष क्षेत्रलाई अगाडि बढाउनका लागि गरेको प्रयासको खुलेर प्रशंसा गरे । मस्कले चुनावी अभियानका क्रममा ट्रम्पलाई खुलेर समर्थन गरेका थिए ।
मस्कको तारिफमा ५ मिनेट खर्च
ट्रम्पले आफ्नो भाषणमा करिब ५ मिनेट मस्कको उल्लेख गरेका थिए । ट्रम्पले मस्कलाई अद्भूत व्यक्तिको रूपमा व्याख्या गरेका छन् । मस्कले फिलाडेल्फिया र पेन्सिल्भेनियाका विभिन्न भागमा दुई साता प्रचार अभियानका क्रममा ट्रम्पसँग बिताएका थिए । आफ्नो भाषणमा ट्रम्पले मस्कका धेरै कामको चर्चा गरे ।
ट्रम्प राष्ट्रपति बन्दा मस्कलाई के-के फाइदा ?
प्रशासनमा स्थान पाउन सक्ने
मस्कले ट्रम्पको प्रशासनमा स्थान पाउन सक्ने अथवा आयोगको नेतृत्व गर्न सक्ने अनुमान गरिएकाे छ । ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन ह्युजका अनुसार मस्कले ‘आयाेग’को नेतृत्व गर्ने ट्रम्पको विश्वास छ । यसको उद्देश्य सरकारलाई थप प्रभावकारी बनाउन र करदाताको पैसाको राम्रो उपयोग सुनिश्चित गर्नु हो ।
मस्कको इच्छाअनुसार कर कटौती हुनसक्ने
एलन मस्कले पनि कर कटौतीबाट लाभ उठाउन सक्छन् । ट्रम्प कर्पोरेशन र धनीहरूका लागि कम कर कायम राख्ने कुरा गर्दै आइरहेका छन् । आफ्नो पहिलो कार्यकालमा उनले कर्पोरेट कर दर ३५ बाट २१ प्रतिशतमा झारेका थिए ।
मस्कका कम्पनीलाई छुट
ट्रम्पको जितसँगै मस्कका कम्पनीहरूले पनि धेरै छुट पाउन सक्छन् । मस्कको कम्पनी स्पेसएक्सले सबैभन्दा बढी फाइदा लिनसक्छ । यस कम्पनीले यसअघि पनि धेरै सरकारी सम्झाैता पाइरहेको छ । यी सम्झौताहरू ट्रम्पको शासनमा पनि जारी रहन सक्छन् र यी सम्झौताहरूको संख्या पनि बढ्न सक्छ ।
यी चुनौतीबाट राहत पाउन सक्ने
मस्कका धेरै कम्पनीहरूले जो बाइडेन प्रशासनबाट धेरै चुनौतीको सामना गरेका छन् । यसमा स्पेसएक्स र टेस्ला कारखानालगायतका कम्पनी समावेश छन् । मस्कको अमेरिका पीएसीसँग पनि अदालतमा मुद्दा चलिरहेको छ । यसमा दैनिक एक मिलियन डलर मूल्य तिर्ने कुरा पनि समावेश छ ।
एक्सलाई पनि मिल्न सक्छ लाभ
मस्कले पनि ट्रम्प प्रशासनबाट सोशल मिडिया प्लेटफर्म एक्स (पुरानो ट्वीटर) को बारेमा पनि विभिन्न अपेक्षा गर्न सक्छन् । मस्कले यसलाई अक्टोबर २०२२ मा ४४ बिलियन डलरमा किनेका थिए । तर, यसपछि प्लेटफर्मले धेरै समस्याबाट गुज्रनुपर्यो । यसको प्रयोगकर्ताको संख्या पनि घट्न थालेको छ । ट्रम्पको विजयपश्चात मस्कले आफ्नो व्यवसायमा वृद्धिको आशा गर्न सक्छन् । (एजेन्सीको सहयोगमा)
Copyright © 2025 Bikash Media Pvt. Ltd.