नेपाल पुनर्बीमाले ३ महिनाभित्र रेटिङ पाउने अध्यक्ष ढुङ्गानाको दाबी

  २०८१ कार्तिक २२ गते ११:१८     विकासन्युज

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले तीन महिनाभित्र रेटिङ पाउने कम्पनीका अध्यक्ष देवराज ढुङ्गानाले दावी गरेका छन् । कम्पनीको ११औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै उनले कम्पनीले ३ महिनाभित्र रेटिङ पाउने जानकारी दिएका हुन् ।

पुनर्बीमा कम्पनीले रेटिङ गर्न ढिला गरेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा उनले यस्तो बताएका हुन् ।

सो कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीले ११ वर्षसम्म पनि रेटिङ नगराएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

स्थापनाको २ वर्षमा नै हिमालयन रिइन्स्योरेन्सले रेटिङ गराएको थियो । तर, ११ वर्षसम्म नेपाल पुनर्बीमाले रेटिङ गराउन नसकेपछि प्राधिकरणका अध्यक्षले आक्रोश पोखेका हुन् । यस्तै, कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले पनि यसमा रेटिङ नभएको भन्दै टिका टिप्पणी गर्ने गरेका थिए ।

अध्यक्ष ढुङ्गानाका अनुसार सिङ्गापुरको रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्रक्रिया सुरु भइसकेको छ । अबको तीन महिनामा रेटिङ भइसक्ने उनको दाबी छ । उनले भने, ‘एएम बेस्ट, सिङ्गापुरबाट रेटिङ लिएर विश्व बजारमा छिर्ने छौं । रेटिङको काम फाइनल चरणमा पुगेको छ । ३ महिनाभित्र रेटिङ गरिसक्छौं ।’

तर, कम्पनीका यसअघिका अध्यक्ष ईश्वर अर्यालले पनि कम्पनीको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै केही महिनामा नै रेटिङ पाउँछौं भनेर दाबी गरेका थिए । अर्थ मन्त्रालयका तत्कालीन सहसचिवसमेत रहेका अर्यालले यस्तो दाबी गरेको ५ महिना भइसकेको छ । उनले हिमालयन रिकोभन्दा राम्रो रेटिङ आउने पनि दाबी गरेका थिए । हिमालयन रिले एएम बेस्ट, सिङ्गापुरबाट बी प्लस रेटिङ पाएको थियो ।

अर्यालले अवकास पाइसकेका छन् भने ढुङ्गाना अध्यक्षमा नियुक्त भएका छन् । केही दिनअघि अध्यक्ष बनेका ढुङ्गानाले पनि फेरि ३ महिनामा रेटिङ गछौं भनेर दाबी गरेका हुन् ।

उनले रेटिङ लिएर विश्व बजारमा छिर्न जनशक्ति व्यवस्थापन, सिस्टमको विकास, मार्केटिङको काम अगाडि बढाएको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.