२०८१ कार्तिक २६ गते १४:०६ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना सकिएसँगै नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जुटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि आन्तरिक तयारी भइरहेको राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।
उनका अनुसार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा कहिले सार्वजनिक गर्ने भनेर ठ्याक्कै मिति नै तय भएको छैन । तर, आन्तरिक रूपमा राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा भने तयारी गरिरहेको छ ।
‘मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाको तयारीमा जुटेका छौँ, ठ्याक्कै कहिले सार्वजनिक गर्ने भनेर मिति नै तय भएको छैन । तर, आन्तरिक रूपमा त्रैमासिक समीक्षाको तयारी भने भइरहेकाे छ,’ उनले भने ।
चालु आवको तीन महिनाको तथ्याङ्क संकलनको कार्य भइरहेको उनले बताए । तीन महिनासम्मको तथ्याङ्क सार्वजनिक भएपछि मौद्रिक नीतिको त्रैमासिक समीक्षा पनि छिट्टै सार्वजनिक हुने उनको भनाइ छ ।
‘असोजसम्मको तथ्याङ्क आयो, तीन महिनासम्मको तथ्याङ्क तथ्याङ्क आइसकेको छैन, अहिले बैंकहरूको तथ्याङ्क मात्रै सार्वजनिक भइसकेको छ, अन्य क्षेत्रको तथ्याङ्क आउन बाँकी छ, आयो भने समीक्षाको कार्य तीव्र अगाडि बढ्छ,’ उनले भने ।
गत वर्ष नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा भने ढिला गरी सार्वजनिक गरेको थियो । गत वर्ष मंसिर २२ गते सार्वजनिक गरेको प्रथम त्रैमासिक समीक्षा लचिलो ल्याएको थियो ।
यसपटक पनि बाह्य क्षेत्र सुधार भएको र आन्तरिक क्षेत्र सुधारात्मक रहेकाले लचिलो मौद्रिक नीतिको समीक्षा ल्याउने तयारीमा राष्ट्र बैंक रहेको छ ।
निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर घटेर एकल अंकमा झरेकाले ऋण विस्तारका लागि राष्ट्र बैंकले सहज नीति ल्याउन सक्ने आँकल बैंकरहरूले गरेका छन् । आर्थिक गतिविधि चलायमान गर्न कर्जाको मागलाई बढाउने गरी समीक्षा आउनुपर्ने बैंकरहरूको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.