२०८१ कार्तिक २६ गते १९:२७ विकासन्युज
काठमाडौं । ३५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
‘आज काठमाडौं चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६८५८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा निज कनैया लाललाई सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरिएको हो,’ उनले भने ।
निज कनैया लालले गुप्ताङ्गमा कार्बनको कागज बाहिर खैरो रङको टेपले बेरेर लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त धातु ११ टुक्रा ल्याएका थिए । घटनाका विषयमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.