मेची-महाकाली राष्ट्रिय उद्धार अभियानले गर्याे २३१ जनाको उद्धार

  २०८१ कार्तिक २८ गते ६:४७     विकासन्युज

काठमाडौं । विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेबाट सुरु गरेको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान-२०८१’ मङ्गलबार भक्तपुर आइपुगेको छ ।

यसवर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा भन्ने नाराका साथ सुरु भएको अभियानको टोलीलाई भक्तपुरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वको टोलीले स्वागत गरेको छ ।

मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजना सुरु अभियानमा आजसम्म देशभरबाट १७३ जना पुरुष, ४९ जना महिला र ९ बालबालिकासहित कूल २३१ जनाको उद्धार गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

संस्था स्थापना भएको १२ वर्षमा पुरुष ६ हजार ६३७, महिला ४ हजार ८२ गरी १० हजार ७२२ जनाको उद्धार गरिएको छ । साथै २ हजार ३३६ पुरुष र १ हजार ८६५ महिला गरी कूल ४ हजार २०१ जनाको पारिवारिक पुनःमिलन गराएको उल्लेख गर्दै अध्यक्ष रामजी अधिकारीले आश्रममा हाल १ हजार १२१ पुरुष र ७६९ महिला गरी कूल १ हजार ८९० जना आश्रित रहेको बताए । आश्रमले २७ जना भारतीय नागरिकलाई उद्धार गरी भारतमै पारिवारिक पुनःमिलन गराउन सफल भएको छ ।

अभियानमा सात प्रदेशमध्येबाट कोशीबाट ४४ जना, मधेसबाट ४० जना, बागमतीबाट ५२ जना, गण्डकीबाट ३५, लुम्बिनीबाट ४९ जना, कर्णालीबाट ३ जना र सुदूरपश्चिमबाट ८ जनाको उद्धार गरिएको भन्दै उनले भक्तपर र ललितपुरमा अझै उद्धार जारी रहेको जनाए ।

अभियानलाई आगामी मङ्सिर २ सम्पन्न गरी ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट अभियानको समापन गरिने बताउँदै उनले देशलाई सडक मानवमुक्त बनाउन जिल्ला र प्रदेश प्रदेशले घोषणा गर्न स्थानीय तह र प्रदेश सरकारले भूमिका निर्वाह गर्न आग्रह गरे ।

अध्यक्ष अधिकारीले भन्नुभयो, ‘विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्य लिएका छौँ, काठमाडौं महानगरपालिकामै समस्या र चुनौती छ, काठमाडौँ महानगरबाट मात्रै तीन दिनमा ४० जनाको उद्धार गरेका छौँ, भक्तपरका चार वटै पालिका, प्रहरी र प्रशासन एवं सरोकाराला निकायले चासो दिँदै सहयोग गरेर सडक मानवमुक्त घोषणा गर्न आग्रह गर्दछौँ ।’

उद्धार अभियानका सहयोगकर्ता एवं गायिका आनिछोइङ डोल्माले अभियानमा रहेका टोलीले सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडक आश्रित मानवलाई उद्धार गर्दै आएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.