२०८१ कार्तिक २८ गते १७:११ विकासन्युज
काठमाडौं । पछिल्लो समय पुँजी बजार सकारात्मक लयतर्फ अग्रसर छ । देशमा दुई ठूला राजनीतिक दलको संयुक्त सरकार बनेसँगै पुँजी बजारमा भने त्यस्तो कुनै हलचल भएको छैन । सेयर बजार घटबढ हुनु पुँजी बजारको सुन्दरता रहेको लगानीकर्ताहरू बताउँछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न क्षेत्रका साढे ३ सय बढी कम्पनी सूचीकरण भएर कारोबारमा छन् । नेप्सेमा सूचीकृत म्युचुअल फण्डबाहेकका कम्पनीहरूको सेयर मूल्य प्रतिकित्ता २ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्ममा कारोबार भइरहेका छन् । सूचीकृत कम्पनीहरूमा थोरै कम्पनीको मात्र सेयर मूल्य २ हजार रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको देखिन्छ ।
युनिलिभर नेपाल सेयर बजारको हटकेक कम्पनी हो । पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी पनि युनिलिभर नै हो । बुधबारको अन्तिम कारोबार हेर्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य ५६ हजार ८०५.८० रुपैयाँसम्म पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य पनि हो ।
कम्पनीको चुक्ता पुँजी ९ करोड २० लाख रुपैयाँ रहेको छ । जसमा संस्थापक समूहको ८५ प्रतिशत र सर्वसाधारण समूहको १५ प्रतिशत सेयर स्वामित्व रहेको नेप्सेमा तथ्याङ्क छ । कम्पनीले निरन्तर लाभांश वितरण गर्दै आएको छ । लाभांश इतिहास हेर्दा कम्पनीले नगद लाभांशलाई मात्रै जोड दिएको देखिन्छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १ हजार ७१४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
राष्ट्रिय बीमा कम्पनीको सेयर प्रतिकित्ता १७ हजार १५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकत्ता २२ हजार ४९३.९० रुपैयाँ पुगेको थियो । २६ करोड ६६ लाख ३६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा संस्थापक समूहको ८७.७५ प्रतिशत र सर्वसाधारण समूहको १२.२५ प्रतिशत लगानी छ । यस कम्पनीले आर्थिक वर्ष २०६२/६३ मा ११४.२७ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता भने कम्पनीले हालसम्म प्रतिफल बाँड्न सकेको छैन । साथै, कम्पनीको विगत केही वर्षको लेखापरीक्षण पनि हुन बाँकी रहेको छ ।
बोटलर्स नेपाल (बालाजु)को सेयर बुधबार प्रतिकित्ता १७ हजार रुपैयाँमा अन्तिम कारोबार भएको छ । ५२ साताको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३ हजार ७६५ रुपैयाँसम्म पुगेको नेप्सेले जनाएको छ । १९ करोड ४८ लाख ८८ हजार रुपैयाँ पुँजी रहेको कम्पनीमा २५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत संस्थापक समूहको सेयर स्वामित्व रहेको छ । निरन्तर लाभांश वितरण गर्दै आएको यस कम्पनीले आर्थिक वर्ष २०७९/८० मा भने सेयरधनीहरूको हात रित्तो बनाएको थियो ।
बोटलर्स नेपाल (तराई) को सेयर मूल्य प्रतिकित्ता १४ हजार ४११ रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७ हजार २ सय रुपैयाँ पुगेको थियो । १९ करोड ४८ लाख ८८ हजार रुपैयाँ पुँजी रहेको यस कम्पनीमा सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले पनि निरन्तर उच्च लाभांश वितरण गर्दै आएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यसपटक भने लाभांश घोषणा गर्न बाँकी छ ।
साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको सेयर बुधबार प्रतिकित्ता ५ हजार ९ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ । प्रत्येक वर्ष सेयरधनीलाई उचित लाभांश वितरण गर्दै आएको यस कम्पनीको सेयर मूल्य पछिल्लो एक वर्षमा ७ हजार रुपैयाँ पुगेको थियो । कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख १७ हजार रुपैयाँ छ । जसमा २१.२६ प्रतिशत संस्थापक समूह र ७८.७४ प्रतिशत सर्वसाधारण समूहको लगानी छ । आर्थिक वर्ष २०७९/८० मा १५.७९ प्रतिशत लाभांश बाँडेको कम्पनीले यसपटक भने घोषणा गर्न बाँकी छ ।
विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ३०५ रुपैयाँ रहेको छ । संस्थागत सुशासनमा कमजोर रहेको यस कम्पनीको सेयर मूल्य पछिल्लो एक वर्षमा प्रतिकित्ता ५ हजार ३१४ रुपैयाँसम्म पुगेको थियो । ४ करोड ९१ लाख ४० हजार रुपैयाँ पुँजी रहेको कम्पनीमा सर्वसाधारण समूहको ८५.२६ प्रतिशत र संस्थापक समूहको १४.७४ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले विगत लामो समयदेखि आफ्नो वित्तीय विवरण सार्वजनिक गर्न सकेको छैन भने हालसम्म सेयरधनीहरूलाई प्रतिफल पनि वितरण गर्न सकेको छैन ।
कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ७८९.१० रुपैयाँ रहेको छ । गत वर्ष मात्रै नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा कम्पनीको प्रतिकित्ता ३ हजार १४० रुपैयाँसम्म पुगेको नेप्सेको तथ्याङ्क छ । जलविद्युत समूहमा २ हजार रुपैयाँभन्दा बढी सेयर मूल्य रहेको कम्पनी पनि कुथेली नै हो । सर्वसाधारण समूहको २० प्रतिशत र संस्थापक समूहको ८० प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार २०९ रुपैयाँ रहेको छ । ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ पुँजी रहेको कम्पनीको सेयर मूल्य पछिल्लो एक वर्षमा २ हजार ७ सय रुपैयाँ पुगेको थियो । कम्पनीमा संस्थापक सेयरधनीहरूको स्वामित्व ८० प्रतिशत र सर्वसाधारण समूहको २० प्रतिशत स्वामित्व रहेको छ । कोषले निरन्तर सेयरधनीहरूलाई प्रतिफल वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा १५.७९ प्रतिशत लाभांश बाँडेको कोषले यसपटक भने घोषणा गर्न बाँकी छ ।
१० वटा लघुवित्त संस्था
नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये १० वटा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ हजार रुपैयाँभन्दा बढी रहेको छ । महिला लघुवित्त, गुराँस लघुवित्त, विन नेपाल लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, आत्मनिर्भर लघुवित्त, यूनिक नेपाल लघुवित्त, श्रृजनशील लघुवित्त, उपकार लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ हजार रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको नेप्सेले जनाएको छ ।
बुधबारको तथ्याङ्कअनुसार आत्मनिर्भर लघुवित्तको ४ हजार ७३५ रुपैयाँ, समाज लघुवित्तको सेयर मूल्य ३ हजार ८९८ रुपैयाँ, उपकार लघुवित्तको ३ हजार १७० रुपैयाँ, यूनिक नेपाल लघुवित्तको २ हजार ८५० रुपैयाँ, विन नेपाल लघुवित्तको २ हजार २८५ रुपैयाँ, गुराँस लघुवित्तको २ हजार ७८० रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ हजार ३६५ रुपैयाँ, श्रृजनशील लघुवित्तको २ हजार ५२४ रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको २ हजार ४३३ रुपैयाँ र महिला लघुवित्तको प्रतिकित्ता २ हजार १२४.९० रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.